दुर्घटनामा मृत्यु भएका वृद्धको दाहसंस्कार गर्नबाट परिवार बञ्चित

श्रोत : ईन्टरनेट

शनिबार, विराटनगर । प्रहरीको गम्भीर लापरबाहीका कारण मोरङको बेलबारीमा दुर्घटनामा परेर मृत्यु भएका एक वृद्धको दाहसंस्कार गर्नबाट परिवार बञ्चित भएको छ ।

दुर्घटनामा परी १० दिनअघि मृत्यु भएका विराटनगर महानगरपालिका–१४ का ६५ वर्षीय महन भनिने बाहेनबहादुर प्रधानको शव अन्त्येष्टिका लागि परिवारका सदस्य र आफन्तले नपाएका हुन् । शवलाई बेबारिसे देखाएर प्रहरीले विराटनगर महानगरपालिकाको सहयोगमा व्यवस्थापन गरिदिएपछि परिवारले धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्न पाएनन् ।

frontline

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–३ मा गत साउन ११ गते राति ९ बजेतिर पैदल हिँडिरहेका बेला सवारी साधनको ठक्करबाट बाहेनबहादुर गम्भीर घाइते भएका थिए । बेलबारीमा सम्भव नभएपछि थप उपचारका लागि प्रहरीले विराटनगरको कोसी अस्पताल ल्यायो । उपचारकै क्रममा भोलिपल्ट दिउँसो उनको मृत्यु भयो ।

नसड्ने गरी शवलाई कोसी अस्पतालकै शवगृहको आइसमा हालेर राखियो । पोस्टमार्टम गरिसकिएको र मृतकको सनाखत नभएको एवं परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएको भन्दै प्रहरीले ‘सदगद’का लागि आग्रह गरेपछि महानगरपालिकाले विराटनगरको सिंघिया घाटमा साउन १७ गते आइतबार नै शवको व्यवस्थापन गरिदिएको थियो ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरी भने घटनालाई सार्वजनिक नगरिकन ‘गुपचुप’ राख्दै दुर्घटना गराउने सवारी साधनको पहिचान र खोजीमा मात्रै केन्द्रित भएको पाइएको छ । दुर्घटना गराउने सवारी साधन र चालकलाई साउन १४ गते प्रहरीले नियन्त्रणमा लियो ।

धादिङको जुङ्गीखोला गाउँपालिका–४ का ३२ वर्षीय रामकृष्ण पौडेलले चलाएको बा ०१–०२४ च ९९१३ नम्बरको पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘दुर्घटनापछि फरार बनेका चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ,’ उनले भने, ‘तत्काल सनाखत नभएकाले मृतकको शवको भने व्यवस्थापन गरियो ।’

कुनै घटनामा व्यक्तिको मृत्यु भएमा ७२ घण्टासम्म पहिचान नखुले बेबारिसे देखाएर शवको व्यवस्थापन गर्नसकिने कानुनी प्रावधान रहेको प्रहरी दाबी छ । पिकअप गाडीको ठक्करबाट ‘मागीखाने’ पुरुषको मृत्यु भएको र पहिचान नखुलेको शव कोसी अस्पतालमा राखिएकाले ‘चिन्नुहुने व्यक्तिले सम्पर्क गर्नुहुन’ भनेर बेलबारी प्रहरीले गत सोमबार मात्रै यो घटनालाई आफ्नो फेसबुक पेजमार्फत मृतकको फोटो र हुलियासहित सार्वजनिक गर्‍यो।

प्रहरीले घटना सार्वजनिक गर्नुभन्दा अघिल्लै दिन शवको भने व्यवस्थापन भइसकेको थियो । फोटोका आधारमा मृतकको पहिचान गरेर शव लिनका लागि आफन्त कोसी अस्पताल पुगे । तर शवको व्यवस्थापन भइसकेको जवाफ पाएपछि झस्किएर छाँगाबाट खसेजस्तै भए ।

‘लामो समयपछि मात्रै प्रहरीले आफ्नो फेसबुक पेजमार्फत मृतकको पहिचान नखुलेको भनेर घटना सार्वजनिक गरेको पायौँ । त्यसअघि भने घटना किन लुकायोभन्ने बुझ्न सकिएन,’ मृतकका नातिनी ज्वाईं प्रवीण खड्काले भने, ‘अस्पतालमा शव छ भनिएकाले बुझ्न गएका थियौँ । तर त्यसअघि नै बेबारिसे भनेर व्यवस्थापन गरिसकेको पाइएपछि अहिले परिवार र आफन्त तनाव एवं अन्योलमा परेका छौँ ।’

उनका अनुसार बाहेनबहादुर १० वर्ष अघिदेखि परिवारबाट अलग भएर बेलबारीका होटलहरुमा काम गर्थे । छोरा वैदेशिक रोजगारीमा र छोरी विराटनगरमै रहेको खड्काले बताए । ‘शवलाई बेबारिसे देखाएर व्यवस्थापन गरिसकेपछि मात्रै घटना सार्वजनिक गर्नु रहस्यमय एवं शंकास्पद छ । बेलैमा थाहा पाएको भए दाहसंस्कार गर्न पाउने थियौँ,’ उनले भने, ‘यो घटनाले दुर्घटना गराउने पक्षसँग प्रहरीको मिलेमतो रहेको देखिन्छ । हामी घटनालाई नजिकबाट बुझ्न र धार्मिक संस्कार अनुसार शवको अन्त्येष्टि गर्नबाट बञ्चित भयौँ ।’

होटलमा काम गरेर जीविका चलाउँदै आएका व्यक्तिलाई बेबारिसे बनाएर लापरबाही एवं बदमासीपूर्ण ढंगले शवको अन्त्येष्टि गरिएको घटनामा संलग्न प्रहरीलाई कारबाही हुनपर्ने माग आफन्तको छ । मृतकको नातामा भाइ पर्ने राम सुवेदीले बाहेनबहादुरलाई चिन्ने व्यक्तिहरु बेलबारीमा धेरै भएको बताए ।

‘होटलमा काम गर्दा प्रहरी कार्यालयमै बारम्बार चिया पुर्‍याउन जानु हुन्थ्यो,’ उनले भने, ‘सधैँ देखिराखेको व्यक्तिलाई प्रहरीले खै कसरी बेबारिसे बनायो हामी नै अचम्ममा परिरहेका छौँ ।’ तत्काल विभिन्न माध्यमबाट सार्वजनिक गर्नुपर्ने घटनालाई प्रहरीले लुकाउँदा आफन्तले शवको दाहसंस्कार गर्न नपाएको गुनासो सुवेदीको छ ।

उनका अनुसार मृतकको शव नपाउँदा आफन्तलाई पीडामाथि तनाव थपिएको छ । ‘अगाडि नै थाहा पाएको भए कम्तीमा शव त पाउने थियौँ,’ उनी भन्छन्, ‘यो घटनामा प्रहरी लापरबाहीले सीमा नाघेको देखियो ।’ 

नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवाल आफन्तको खोजी र मृतकको पहिचानलाई प्राथमिकतामा राख्नुपर्नेमा तत्काल घटना नै सार्वजनिक नगरेर प्रहरीले ठूलो बदमासी गरेको बताउँछन् । ‘घटनामा परेका कसैको पहिचान नखुलेमा हुलियासहितको विवरण सार्वजनिक गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर घाइते वा मृतकको पहिचान खुलाउनेतर्फ नलाग्नु प्रहरीको ठूलो कमजोरी हो ।’ प्रविधिको प्रयोग गरेर वा सार्वजनिक सूचना जारी गरेर बेबारिसेको पहिचानको प्रयास गर्नुपर्नेमा प्रहरी चुकेको कटुवाको ठम्याइ छ ।

असावधानीपूर्ण अनुसन्धानका कारण आफन्त गुमाएर पीडामा परेकालाई थप पीडित बनाउने काम प्रहरीबाटै भएको पूर्वडीएसपी कटुवालले बताए । उनका अनुसार मृत्यु नै भइसकेको घटनालाई लामो समयसम्म लुकाएर प्रहरीका अनुसन्धान अधिकृतले मान्छेको ज्यानमाथि खेलवाड गरेको देखिन्छ ।

‘दुर्घटना गराउने पक्ष तत्काल नभेटिँदा आफन्तले दबाब दिने, आन्दोलन एवं अवरोध गर्ने भएकाले प्रहरीमा घटना लुकाउने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने, ‘अनेक झण्झटबाट मुक्त हुनलाई आफन्त पत्ता लगाउने प्रयास नगरिकन शवको व्यवस्थापनतर्फ प्रहरी अघि बढेको देखिन्छ ।’ मृत्यु भएकाको शव नै परिवार र आफन्तले पाउननसक्नु गम्भीर लापरबाहीको गतिलो उदाहरण भएको कटुवालको भनाइ  छ ।

उनका अनुसार यस्ता घटनामा दुर्घटना गराउनेको खोजी थालेर घाइतेको उपचारलाई प्रभावकारी बनाउँदै परिवार एवं आफन्तसँगको सम्पर्क स्थापित गराउने प्रयास प्रहरीबाट हुनुपर्छ । ‘व्यस्त लोकमार्गमा ‘हिट एण्ड रन’का घटना धेरै हुन्छन्,’ कटुवालले भने, ‘तर जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिले घटना अनुसन्धानको जिम्मेवारी पाएको प्रहरीमा संवेदनशीलता नै देखिँदैन ।’ प्रहरीका कारण आफन्तले शव नै नपाउने अवस्था आउनू असामान्य विषय भएको उनको भनाइ छ ।

इन्सपेक्टर खनाल भने अरु घटनाका कारण यसतर्फ ध्यान दिन नसकिएको बताउँछन् । ‘घटना चाँडै सार्वजनिक गर्ननसक्नु हाम्रो कमजोरी हो,’ उनले भने, ‘तर मृतकलाई चिन्छौँ भनेर कोही पनि प्रहरीको सम्पर्कमा आइपुगेका छैनन् ।’ सबै कुरा कानुनी प्रक्रिया अनुसार नै गरिएकाले प्रहरीको कमजोरी नरहेको खनालको दाबी छ।

उनले छ/सात वर्षदेखि फोहोर, प्लाष्टिक र बोतलहरु उठाएर बेबारिसे अवस्थामा हिँड्ने र ‘मागीखाने’ व्यक्तिकै रूपमा मृतकलाई प्रहरीले चिनेको पनि बताए । तत्काल नाम, थर र वतन नखुलेकै कारण सडेर दुर्गन्धित हुने भएकाले बेबारिसे बनाएरै शवको व्यवस्थापन गरिएको इन्सपेक्टर खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here