दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण

कर्जा लिएर दुरुपयोग गरेको स्वीकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गर्ने गरेको भेटिएको छ ।

frontline

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको निष्कर्ष निकालेको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा प्रसाईंले दुरुपयोग गरेका हुन् ।

कर्जा जुन प्रयोजनका लागि लिएको हो, सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेर दुरुपयोग गरेको सीआईबीका एआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । उनले भने, ‘बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।’

प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजन र अरु बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरेका हुन् । तत्कालीन एनसीसी बैंक (अहिले कुमारी)बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड उनले राउण्ड ट्रिपिङ्ग गराएर शङ्कास्पद कारोबार गरेका हुन् । राष्ट्र बैंक ऐन अनुसार कर्जा दुरुपयोग गरेर अन्यत्र घुमाउन वा फरक प्रसङ्गमा लिएको कर्जा तिर्ने काममा प्रयोग गर्न पाइँदैन ।

कर्जा दुरुपयोग गरेकोबारे सीआईबीले प्रसाईंसँग बयान लिएको छ । अनुसन्धान अधिकृतहरू र विशेष सरकारी वकिल कार्यालयका अधिकृतहरूले प्रसाईंसँग बयान लिइसकेका छन् । बयानमा प्रसाईंले रकम ‘राउण्ड ट्रिपिङ्ग’ गराएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्ने र पार्टीलाई भुक्तानी दिन प्रयोग गरेको छ, त्यसमा लुकाउनुपर्ने विषय नै छैन ।’

राष्ट्र बैंक ऐन अनुसार बैंकबाट लिएको कर्जा व्यवसायमा प्रयोग गरेर त्यसबाट प्राप्त आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्छ । तर, प्रसाईंले ठुलो रकम पेस्कीको रुपमा लिएर आफू र आफन्तको नाममा रहेको कम्पनीहरूलाई सो रकम प्रदान गरेको भेटिएको छ ।

प्रसाईं र निजका आफन्त संलग्न ३१ वटा कम्पनीले २०८१ असोज मसान्तसम्ममा ५ वटा बैंकलाई ७ अर्ब २५ करोड ८७ लाख बक्यौता भुक्तानी गर्न बाँकी रहेको भेटिएको छ । ती कम्पनीको अन्तिम हिताधिकारी दुर्गा प्रसाईं रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

प्रसाईंले चार वर्षदेखि झापास्थित बीएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर अस्पताल प्रालिको नाममा प्रवाह भएको कर्जाको सावाँ ब्याज भुक्तानी नियमित गरेका छैनन् ।

  • जेठ दोस्रो साता मुद्दा दायर गरिँदै

प्रसाईंविरुद्ध सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसारको कर्जा दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएको छ । प्रसाईं अहिले राज्यविरुद्धको कसुर, ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा काठमाडौँ प्रहरीको हिरासतमा छन् ।

उनीविरुद्ध अनुसन्धान पूरा गरेर जेठ दोस्रो सातातिर अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । एआईजी खापुङ भन्छन्, ‘तीन कुने घटना र बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन करिब एकै समयमा जान्छ ।’

#दुर्गा प्रसाईं #अपराध

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here