दुई पालिकामा एउटै प्रशासकीय अधिकृत

बझाङको केदारस्यू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायको दैनिकी निकै व्यस्त छ । आइतबारदेखि मंगलबारसम्म साताको तीन दिन उनी केदारस्यु गाउँपालिकामा हुन्छन् । तिनै व्यक्ती बुधबारदेखि शुक्रबार तीन दिन बुगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसेका भेटिन्छन् । दुई पालिकाको काम भ्याउन उनले केदारस्यूको देउराबाट बुंगलको विजगडासम्म करिब दुई घण्टाको एकतर्फी यात्रा गर्नुपर्छ ।

‘कुनै दिन त खाने फुर्सद पनि हुँदैन । विहान सात बजेदेखि साँझ सात बजेसम्म पनि काम गर्नुपर्छ,’ फागुन अन्तिम सातादेखि बढेको आफ्नो व्यस्तता बारे बताउदै उनी भन्छन्, ‘कति दिन त शनिवार पनि काम गरेको छु । जति गरे पनि एक पालिकाको काम गर्दा अर्को पालिकाको काम छुटिहाल्छ । सेवाग्राहीले भनेको समयमा सेवा पाउन सक्दैनन् ।’

frontline

यद्यपि आफुले सकेसम्म सेवाग्राहीको हित सोचेर मेहनत गरिरहेको उपाध्यायको भनाइ छ । उनले एउटा पालिकाबाट अर्को पालिकामा जाँदा अर्को कर्मचारीलाई निमित्त दिएर जाने गरेका छन् । त्यो अवधीमा प्रमुख प्रशासकीय अधिकृत नभई नहुने आर्थिक कारोबार, नीतिगत र प्रशासनिक कामहरू हुन सक्दैनन् । प्रमुख प्रशासकीय अधिकृत नभएपछि योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता आदि लिन टाढा टाढाबाट आएका सेवाग्राहीले सास्ती मात्रै पाउँछन् सेवा पाउँदैनन् ।

उसो त पालिकामा दैनिकजसो तालिम गोष्ठी, नीति निर्माणलगायतका काम पनि भइरहन्छन् । प्रमुख प्रशासकीय अधिकृतले सहभागी हुनैपर्ने यस्ता कार्यक्रम पनि उनको लागि छुटेको छुट्यै हुन्छन् । ‘जुन पालिकामा गयो त्यहीं कै कार्यक्रममा बस्ने गरेको छु । एउटा पालिकामा जाँदा अर्को पालिकाको त छुट्ने नै भयो,’ उनले भने, ‘अर्को मान्छे आउन्जेलसम्म हेरिदिनु पर्यो भनेर मेयर, उपमेयरले निकै अनुरोध गरेकाले गएको हुँ । अर्को मान्छे आउने कुनै छाँट छैन ।’ दुइवटा पालिकाको एउटै प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको व्यक्ति देश भरमा आफूमात्रै भएको उनले दाबी गरे । बुंगल नगरपालिका जनसंख्या, बजेट र योजना संख्याका हिसाबले जिल्लाकै पहिलो ठुलो पालिका हो भने केदारस्यु गाउँपालिका जिल्लाकै तेस्रो ठूलो पालिका हो । बजेट, योजना र सेवाग्राहीको संख्या बढी भएको दुई ठूला पालिकाको काम एक्लैले गर्नुपर्दा आफूलाई निकै भार परेको उनले सुनाए ।

माघ र फागुनको दुई महिना बुंगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले केदारस्यु गाउँपालिकामा कार्यरत उपाध्यायलाई दुई पालिकाको काम गर्न गरी जिम्मा दिएको थियो । माघ २९ गते नै मन्त्रालयबाट जिम्मेवारी दिइएको पत्र प्राप्त भएको भए पनि आफूले दुई पालिकाको काम गर्न नसक्ने भन्दै टार्दै आएको तर सेवाग्राहीले सास्ती पाएको भन्दै प्रमुख उपप्रमुख र मन्त्रालयका अधिकारीले अनुरोध गरेपछि बाध्य भएर दुई पालिकाको काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here