दीपावलीसम्म ८० करोड गरीबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् ।

frontline

‘सरकार यो महामारीमा गरीबको साथमा छ । हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउनेछन् । कसैले पनि भोकै सुत्नुपर्दैन’, मोदीले भने ।

यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।

यसैबीच मोदीले भारतको खोप अभियानको पनि बचाउ गरेका छन् ।

उनले जुन २१ बाट भारतको सरकारले १८ देखि ४४ वर्ष उमेर समूहका मानिसहरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताएका छन् ।

अहिले नै भारतमा ४५ वर्षमाथिका मानिसहरुले कोरोना खोप लगाइरहेका छन् ।

भारतमा कोरोना खोप अभियान निकै सुस्त चलिरहेको भन्दै आलोचना भइरहेको समयमा मोदीले यस्तो घोषणा गरेका हुन् ।

उनले सरकारले मुलुकमा कोरोनाको महामारी फैलिँदा सबै संयन्त्रहरुलाई प्रयोग गरेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रयास गरेको दाबी गरे ।

अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइसकेको मोदीले बताए ।

एक वर्षभित्र भारतले दुई स्वदेशी खोप सार्वजनिक गरेको र सोही खोपको कारण अहिले भारतले आफ्नो खोप अभियान सञ्चालन गरिरहेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए ।

मोदीले आगामी दिनमा कोरोना खोपको आपूर्ति पनि बढ्ने उल्लेख गरे ।

अहिले भारतमा सातओटा कम्पनी विभिन्न किसिमको खोप बनाइरहेको र बाँकी तीन खोपकोअन्तिम चरणको मानव परीक्षण चलिरहेको मोदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here