दिक्तेल बजार सिल
कोरोना संक्रमण बढ्दै गएपछि दिक्तेल बजार सिल गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजार सिल गरिएको हो ।
दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा बिहीबारदेखि अनिश्चितकालीन सिल गरिएको हो ।
यसअघि जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीया लगायतलाई समेत कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्