दार्जीलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री

२५ फागुन, काठमाडौं । भारतको पुणेमा पुर्‍याएर नेपाली महिलालाई बेचबिखन गरेको खुलेको छ ।

मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन भएको खुलेको हो । पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएर अहिले दुई जना पक्राउ समेत परेका छन् ।

frontline

ब्यूरोको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई आइतबार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए ।

विभिन्न प्रलोभन पारेर चार जानको समूले दुई महिलालाई पुणेमा पुर्‍याएर बेचेको ब्यूरोको भनाइ छ । यो समूहका दुई जना अझै फरार छन् । फरार हुनेमा एक पुरुष र एक महिला छन् ।

दार्जीलिङ घुम्न भन्दै जब पुणे पुर्‍याइयो

प्रहरीका अनुसार पक्राउ परेकाहरू र पुणेमा बेचिएका महिला पूर्व चिनजाका हुन् । उनीहरू सँगै कन्ट्रक्सनमा लेभरको काम गर्थे । एकै जिल्लाका भएकाले पनि पीडित महिलाहरूले पक्राउ परेका दुई पुरुषलाई सहजै विश्वास गर्ने गरेको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरको भनाइ छ ।

त्यसपछि दार्जिलिङ घुम्न जाउँ भन्दै उनीहरूले महिलालाई प्रलोभनमा पारेका थिए । ‘एकै ठाउँका र सँगै काम गर्ने भएपछि पीडित महिलाले सहजै विश्वास गरेको देखिन्छ,’ एसपी कुँवरले भने ।

घुम्न जाने, मोबाइल समेत किनिदिने र काम गरेको पैसा समेत दिने भएपछि पीडित महिलाले विश्वास गरेको प्रहरी अधिकारीहरू बताउँछन् । ललितपुरको गोदावरी नगरपालिका–१२ चापागाउँ ठेचोबाट महिलालाई कोटेश्वर ल्याइएको थियो । त्यसपछि उनीहरू गत १८ मंसिरमा वीपी राजमार्ग हुँदै उनीहरू झापा पुगेका थिए ।

झापाबाट इलाम पुगेर एक रात उनीहरूसँगै बसेको ब्यूरोका अर्का एसपी रुगम कुँवरको भनाइ छ । इलामको पशुपतिनगर नाकाबाट भारत छिरेका उनीहरूलाई दार्जिलिङ लगिएको थियो । त्यहाँबाट कोलकत्ता लगिएको प्रहरीको भनाइ छ । कोलकत्ताबाट दिल्ली पुर्‍याएर १७ दिनसम्म राखिएको प्रहरीको भनाइ छ ।

दिल्लीबाट महाराष्ट्रको पुणेस्थित न्यू बिल्डिङ फुड प्लाजा बुधबारे पठेको रेड लाइट एरियाको कोठीमा पुर्‍याएर बेचिएको ब्यूरोका एसपी कुँवरले बताए ।

नक्कली नागरिकता बनाएर छिराइएको थियो भारत

यो समूहले नक्कली नेपाली नागरिकता बनाएर भारत छिराएको प्रहरीको दाबी छ । नक्कली नागरिकता बनाउने काम भने हाल कारागारमा रहेका सञ्चबहादुर तामाङले गरेको एसपी कुँवर बताउँछन् ।

‘निरमाया घलानको नामको नक्कली नागरिकता र परिचयपत्र कार्ड बनाएर पीडित महिलालाई दिएको देखिन्छ । बोर्डर पार गर्ने बेलामा कसैले सोधेमा यो कार्ड दिनु भनेर सिकाएको पीडित महिलाले बताएकी छिन्,’ एसपी कुँवरले भने ।

उनीहरू भने बमोजिम पीडित महिलाले काम गरेकी थिइन् । बोर्डर पार परेर विभिन्न ठाउँ हुँदै पुणे पुर्‍याएपछि डेढ लाख रुपैयाँ बिक्री गरिएको प्रहरीको दाबी छ ।

बेचिएकी महिलाले लुकेर नेपालमा रहेका आफ्ना श्रीमान्सँग सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनका श्रीमान् मानव बेचबिखन अनुसन्धान ब्यूरोको सम्पर्कमा पुगेका थिए । ब्यूरोले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि भारतीय प्रहरीले छापा मार्ने डरले बसको टिकट काटेर सुनौली नाकासम्म ल्याएर छाडिदिएको प्रहरीको भनाइ छ । उनीहरूको १५ माघमा उद्धार भएको थियो । कोठीबाट उम्केर नेपाल आएका उनीहरूले ब्यूरोमा उजुरी दिएपछि बेचबिखनको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

जेलबाट छुट्नासाथ फेरि मानव तस्करी धन्दा

पक्राउ परेका मध्ये मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनमा दोषी ठहर गर्दै १० वर्ष कैदको सजाय सुनाएको थियो ।

उच्चले उक्त फैसलालाई पाँच वर्ष घटाएर पाँच वर्ष मात्रै कैदीको फैसला परेको थियो । २०७६ सालमा जेल परेका उनी पाँच वर्ष कैद भुक्तान गरेर केही समयअघि मात्रै छुटेका थिए ।

फेरि अहिले उनी मानव बेचबिखनकै कसुरमा पक्राउ परेका हुन् । यस्तै यही घटनाका अर्का प्रतिवादी सञ्‍चबहादुर तामाङ भने अहिले डाँका चोरी मुद्दामा कारागार रहेको खुलेको छ । उनी ललितपुरको नख्खु कारागारमा छन् । उनी समेतको मिलेमतोमा यो घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here