दाङमा शिक्षक र विद्यार्थीमा कोरोना भएपछि विद्यालय बन्द
२१ पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।
मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।
‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’
त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए ।
संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्