दसैंमा कोशी प्रदेशमा ४ सय १३ वटा सवारी दुर्घटना, २२ जनाको मृत्यु
विराटनगर : दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कोशी प्रदेशमा ४ सय १३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ७४६ जना घाइते भएका छन्।
दुर्घटनाको चाप मोरङमा सबैभन्दा धेरै देखिएको छ भने ज्यान गुमाउनेको संख्या सुनसरीमा बढी छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं इन्सपेक्टर विकाश थपलियाका अनुसार, १४ जिल्ला रहेको प्रदेशमा भएका दुर्घटनामा १७ पुरुष र पाँच महिलाले ज्यान गुमाएका हुन्। मृतकमा एक जना सवारी चालक र दुई जना बालिका छन्।
दुर्घटनामा घाइते हुनेमध्ये ३६ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा ३१ पुरुष र पाँच महिला रहेको जानकारी थपलियाले दिए। अन्य ७१० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ७१ जना सवारी चालकसमेत छन्। उनीहरू सबैको अवस्था सामान्य छ । दुर्घटनामा तीनवटा चौपायासमेत मरेका छन्।






प्रतिक्रिया दिनुहोस्