दशैको पहिलो दिन तेजापाकडमा बृहत कलश यात्रा

Exif_JPEG_420

facebook sharing button
twitter sharing button
messenger sharing button
facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button

frontline

मेवालाल यादव

रौतहट १७ असोज


नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन आज घटस्थापनाका अवसरमा रौतहटको तेजापाकड सहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम आयोजना भइरहेका छन् । दशैको कलश स्थापना गरेर नवरात्रीको शुभारम्भ गरिनुका साथै विशेष पूजा आराधना गरिएको छ । विशेष गरी रौतहटको परोहा नगरपालिकाको तेजापाकड ,चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगायतका क्षेत्रहरूबाट आज बिहानै वृहत् कलश यात्राको आयोजना गरिएको छ । रौतहट जिल्लाका सम्पूर्ण स्थानीय तहका माता भगवती तथा दुर्गा मन्दिरहरूबाट निस्किएको कलश यात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो । तेजापाकडमा पनि दुर्गा पुजा समितिको आयोजनामा कलश यात्रा निकालिएको थियो । यस धार्मिक यात्रालाई देवी दुर्गाको स्वागत र श्रद्धाको प्रतीकका रूपमा लिइने पुजा समितिका अध्यक्षले जानकारी दिएका छन । कलश यात्रा भनेको शक्ति स्वरूपा देवी दुर्गालाई आह्वान गर्न आयोजित गरिने धार्मिक यात्रा भएको अध्यक्षको भनाइ छ । यस यात्रामा श्रद्धालुहरूले पवित्र जल, आमका पात, दूर्वा घाँस, फूल र नरिवल सहितको कलश बोकेर मन्दिर वा पूजा स्थलमा लैजान्छन् । कलशलाई देवी दुर्गाको प्रतीक मानिन्छ, र यसले समृद्धि, शान्ति, र शुभताको सन्देश दिन्छ । कलशमा रहेको पवित्र जललाई जीवनको स्रोत मानिन्छ, जसले जीवनको निरन्तरता र उन्नतिलाई दर्साउँछ ।
तेजापाकड क्षेत्रमा नवरात्रीको अवसरमा विशेष पूजा अर्चना गरिँदै आएको छ । प्रत्येक वर्ष कलश यात्रामा हजारौँ श्रद्धालुहरूको उत्साहजनक सहभागिता हुन्छ । यो यात्रामा सहभागी हुने भक्तजनहरूले देवी दुर्गाप्रति आफ्नो श्रद्धा प्रकट गर्दै नौ दिनसम्म विशेष पूजापाठ र व्रतसमेत गर्ने चलन छ । नवरात्रीको समयमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा गरिन्छ, जसमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री आदि देवीहरूलाई विशेष सम्मानका साथ पूजा गरिन्छ ।
नवरात्रीको नौ दिनलाई देवी दुर्गाको नकारात्मक शक्तिहरूमाथि विजयको प्रतीकका रूपमा लिइन्छ । प्रत्येक दिन देवी दुर्गाका विभिन्न रूपहरूको पूजा गरिन्छ, जसले शक्ति, साहस र आशीर्वाद दिन्छ । विशेष गरी मधेस प्रदेशको भोजपुरी क्षेत्रमा नवरात्रीको अत्यन्त ठूलो धार्मिक महत्त्व छ । नवरात्रीका बेला कलशको पूजा नौ दिनसम्म गरिन्छ । भक्तजनहरूले दुर्गा सप्तशती, दुर्गा चालिसा, तथा अन्य धार्मिक ग्रन्थहरूको पाठ गरेर देवी दुर्गाको आराधना गर्छन् । प्रत्येक दिन फरक–फरक रङका पहिरन र पूजा सामग्रीको प्रयोग गरिन्छ, जसले प्रत्येक दिनको विशेषतालाई दर्साउँछ । देवी दुर्गाको शक्तिलाई आह्वान गर्न, नकारात्मक शक्तिहरूमाथि विजय प्राप्त गर्न, र जीवनमा सुख, शान्ति, समृद्धि ल्याउन यो पर्वलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
नवरात्रीको अन्तिम दिन, जसलाई विजयादशमी भनिन्छ, कलशको विसर्जन गरिन्छ । कलशमा रहेको पवित्र जललाई नदी, तलाउजस्ता जलाशयहरूमा प्रवाहित गरिन्छ । यसले देवी दुर्गाको आशीर्वाद लिएको प्रतीक मानिन्छ, र देवीले आफ्नो कर्तव्य पूरा गरेर आफ्ना दिव्य धाम फर्किएको धार्मिक विश्वास छ । विजयादशमीले असलले बुराइमाथि विजय प्राप्त गरेको सन्देश दिन्छ, र यस पर्वले धार्मिक, सांस्कृतिक, तथा सामाजिक एकता र सद्भावलाई थप बलियो बनाउँछ । यस वर्ष तेजापाकडमा बाक्लो संख्यामा भक्तजनहरूको उपस्थितिमा सम्पन्न भएको कलश यात्राले नवरात्रीको विशेष धार्मिक महत्त्वलाई थप उजागर गरेको छ । घटस्थापनादेखि विजयादशमीसम्मको यो धार्मिक यात्रा भक्तजनहरूको आस्था, श्रद्धा र एकताको प्रतीक हो । यसले शक्ति, धैर्यता, र विजयको सन्देश दिने भएकाले भोजपुरी क्षेत्रका बासिन्दाहरूका लागि यो पर्वले विशेष महत्व रहेको अध्यक्षले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here