तीन वर्षदेखि बेपत्ता युवक, आशामा परिवारजन
२६ पुस, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ का आशिष मगर बेपत्ता भएको तीन वर्ष पुग्न लाग्यो । २०७५ फागुन २० गते शिवरात्रिका दिन परिवारजन कसैलाई नसोधी घरबाट हिँडेका उनी अहिलेसम्म सम्पर्कविहीन छन् । पीडित परिवारले सबैजसो आफन्तसँग उनका बारेमा सोधखोज गरिसकेको छ । छोरा भेटिने आशामा बुवा इन्द्रबहादुर मगर र आमा हेममाया मगरले धेरैमा ठाउँ धाइसकेका छन् । तर अहिलेसम्म छोराको अवस्था अज्ञात हुँदा उनीहरू विचलित बनेका छन् ।
आशिषकी ४७ वर्षीया आमा हेममायाले भनिन्, ‘कहाँकहाँ मात्र खोजिएन तर केही उपाय लागेन । कसैले आशिषजस्तो मान्छे यो ठाउँमा देखिएको थियो भनेर सुनाउनेबित्तिकै कुदिहाल्थें तर त्यहाँ पुगेपछि अर्कै मान्छे हुन्थ्यो । यस्तो धेरैचोटि भएको छ ।’ छोरा आजै र अहिल्यै फर्किहाल्छ भन्ने लागिरहने गरेको उनले सुनाइन् । ‘हरेक दिन उसको बाटो हेरिरहन्छु,’ उनले भनिन्, ‘जतिखेर पनि छोराकै सम्झनाले सताइरहन्छ ।’ छोरा हराएदेखि अहिलेसम्म राम्रोसँग निदाउन पनि नसकिएको उनले सुनाइन् ।
आमाले आशिष भलादमी खालको भएको र कहिल्यै अरुसँग झगडा गरेको चाल नपाएको बताइन् । ‘घरमा जे काम अह्राए पनि मान्थ्यो, झर्कीफर्की कहिल्यै गर्दैनथ्यो,’ उनले भनिन्, ‘सबैसँग मिठो वचन बोल्थ्यो । मिलीजुली बस्थ्यो । गाउँघरमा साथीभाइसँग झगडा परेको पनि कहिल्यै थाहा पाइएन । कुनै युवतीसँग प्रेम भएर हिँड्यो भनौं भने पनि त्यस्तो केही सुनिएको छैन ।’ हेममायाका अनुसार कक्षा ११ र १२ को पढाइ सदरमुकाम धनकुटामा बसेर पूरा गरेका आशिष थप पढाइका लागि योजना बनाउँदै थिए । घरमा त्यसबारे सल्लाह पनि हुने गथ्र्यो ।
आशिष बेपत्ता भएको खबर उनका सहपाठीहरूले पनि विश्वास गर्न सकिरहेका छैनन् । त्यस्तो सरल र इमानदार मान्छे कसरी बेपत्ता भयो भनेर उनीहरूले चिन्ता व्यक्त गर्ने गरेको आमा हेममायाले बताइन् । साथीहरूले बेलाबेलामा फोन गरेर आशिषका बारेमा सोध्ने गरेको आमाले सुनाइन् ।
आशिष बेपत्ता भएको खबर उनका सहपाठीहरूले पनि विश्वास गर्न सकिरहेका छैनन् । त्यस्तो सरल र इमानदार मान्छे कसरी बेपत्ता भयो भनेर उनीहरूले चिन्ता व्यक्त गर्ने गरेको आमा हेममायाले बताइन् । साथीहरूले बेलाबेलामा फोन गरेर आशिषका बारेमा सोध्ने गरेको आमाले सुनाइन् ।
आशिषका दाजु मनोज मगरले २०७५ फागुन २३ गते इलाका प्रहरी कार्यालय पाख्रीबासमा भाइको खोजतलास गरिदिन अनुरोध गर्दै निवेदन दिएका थिए तर अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन सकेको छैन । ‘घरबाट हिँडेको मान्छे तीन महिनासम्म नफर्केपछि इलाका प्रहरी कार्यालय पाख्रिबासमा खोजतलासका लागि निवेदन दिएँ तर त्यहाँबाट अहिलेसम्म केही खबर आएको छैन,’ मनोजले भने, ‘हामी आफैंले पनि धेरै ठाउँमा खोजिसक्यौं तर केही पत्ता लागेको छैन ।’ भाइको खोजीका लागि धेरैपटक ताकेता गरे पनि प्रहरीले खोजी भइरहेको जवाफ मात्र दिने गरेको उनले सुनाए । प्रहरीमा निवेदन दिएको केही समयपछि ‘मानिस हराएको’ भनेर फोटोसहितको सूचना पनि पत्रिपत्रिकामा छपाएको मनोजले जानकारी दिए ।
२०५४ चैत १३ गते जन्मिएका आशिष हराएको बेला २१ वर्ष पुग्न एक महिना मात्र बाँकी थियो । गहुँगोरो वर्णका आशिष ५ फिट ७ इन्च अग्लो रहेको खोजतलासका निम्ति प्रहरीमा दिइएको निवेदनमा उल्लेख छ । त्यसैमा भनिएअनुसार उनले घरबाट निस्कने बेला पहेंलो जर्सी, हरियो जिन्स पेन्ट र कालो म्याजिक चपल लगाएको थिए । परिवारले दिएको जानकारीअनुसार आशिषले मोबाइल पनि घरमै छाडेका छन् । उनले नागरिकता, शैक्षिक प्रमाणपत्र पनि केही लगेका छैनन् । उनको राहदानी नबनेको हुँदा विदेश गएको भनेर अनुमान गर्न सकिने अवस्था पनि छैन । कतै नभेटिँदा भारत गएको हुन सक्ने भनी गाउँलेले अनुमान गर्ने गरेको पनि आमा हेममायाले सुनाइन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले बेपत्ता आशिषको खोजी कार्य जारी रहेको बताए । लामो समय भइसक्दा पनि आशिषका बारेमा कुनै संकेतसम्म नभेटिएको उनले जानकारी दिए । ‘बेपत्ता भएको यति लामो समय भइसक्यो तर कुनै क्लु भेट्टाउन सकिएको छैन,’ डिएसपी थापाले भने, ‘मोबाइल लिएर गएका भए खोजी गर्न सजिलो हुन्थ्यो तर उनले मोबाइल घरमै छाडेका रहेछन् ।’ कुनै अप्रिय घटनाको भएको अवस्थामा पनि शव भेटिनुपर्ने तर अनुसन्धान अगाडि बढाउने कुनै आधार अहिलेसम्म नपाइएको उहाँले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय पाख्रिबासका प्रहरी नायब निरीक्षक (सई) राजकुमार थापाले खोजतलासका लागि हुलियासहितको निवेदन परेलगत्तै विभिन्न तौरतरिकाबाट आशिषको खोजीकार्य अघि बढाइए पनि अहिलेसम्म फेला पर्न नसकेका जानकारी दिए । ‘परिवारको सम्पर्कमा आएको पनि हुन सक्ने भनेर निरन्तर बुझिरहेको छौं तर त्यस्तो अवस्था बनेको छैन,’ उनले भने ।
पाख्रिबास– ५ का वडाध्यक्ष गोपालराज थापाले आशिष सज्जन मान्छे भएकाले घरमा नसोधी हिँड्नुपर्ने कुनै कारण नहुनुपर्ने बताए । ‘गाउँठाउँमा सोझो भनेर हामी उनलाई चिन्थ्यौं । जाँड रक्सी खान्नथे, जुवातास खेल्दैनथे, दंगाफसादमा लाग्दैनथे,’ वडाध्यक्ष थापाले भने, ‘बदमासी गरेको भए त ढिलोचाँडो थाहा हुनुपर्ने, हामीले जानेबुझेसम्म उनले नराम्रो काम गरेको केही सुनेका छैनौं ।’ आशिष हराएको तीन वर्ष हुन लाग्दा पनि जीवित या मृत कुन अवस्थामा भनेर थाहा पाउन नसक्नु चिन्ताको विषय भएको उनले बताए । आशिषको खोजीमा सक्रियता बढाइदिन उनले सम्बन्धित निकायलाई आग्रह पनि गरे । कसैले आशिषबारे कुनै जानकारी पाए प्रहरी वा पाख्रिबास नगरपालिकालाई जानकारी गराइदिन पनि उनले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्