तीजका गीतमा रेकर्ड बनाउने महँगी गायिका!

तीजलाई लक्षित गरेर बर्सेनि दर्जनौं गीत बजारमा आउँछन्। यसपालि पनि थुप्रै गीत रिलिज भइसके तर अहिलेसम्म विगतमा जस्तो चर्चा भएको छैन। एकाध गीत राम्रा मानिए पनि युट्युबमा अपेक्षित भ्युज छैन।

बरू नयाँ गीतपिच्छे कमेन्ट र सामाजिक सञ्जालमा स्ट्याटसहरू देखिन्छन् — विष्णु माझीको गीत कहिले आउँछ?

frontline

सार्वजनिक रूपमा ‘नदेखिने’ गायिका विष्णुले सांगीतिक क्षेत्रमा लोभलाग्दो क्रेज बनाएकी छन्। उनको स्वरको माधुर्यता र मिठास लोक संगीतप्रेमीले खुब रूचाएका छन्। लोक-दोहोरीमा निकै चर्चा कमाएकी विष्णुले तीजगीतमा पनि आफ्नो छुट्टै छाप छाडेकी छन्।

पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं आएका छन्। त्यसैले विष्णुका प्रशंसकहरू उनको स्वरमा आउने नयाँ गीत पर्खिरहेका छन्।

एकै गीतको धेरै भाग ल्याउने गायिका

विष्णु वर्षौंदेखि निरन्तर तीजगीत ल्याइरहेकी गायिका हुन्। तीजगीतमा उनले सबभन्दा धेरै भाग ल्याएर अलग खालको रेकर्ड नै बनाएकी छन्।

लोक-दोहोरी क्षेत्रका जानकारहरूका अनुसार २०६१ सालमा विष्णुले ‘पुतलीको भट्टी’ गीत सार्वजनिक गरेकी थिइन्। 

त्यसयता उनले हरेक वर्ष त्यसको नयाँ भाग ल्याउने गरेकी छन्। गत वर्ष सार्वजनिक ‘बलमा’ सोही गीतको १९ औं भाग थियो।

त्यसअघि ‘चरी जेलैमा २’ १८ औं र ‘चरी जेलैमा’ १७ औं भागका रूपमा आएको थियो।

यसपालि उनले ल्याउने तीजगीत सम्भवतः ‘पुतलीको भट्टी’ भाग २० हुनेछ।

अरू पनि केही गायक-गायिकाले तीजगीतका केही भागसम्म ल्याएका छन्। तर निरन्तर रूपमा यति धेरै भागसम्म विष्णुको बाहेक कुनै तीजगीत सार्वजनिक भएको छैन। तसर्थ, उनी नेपालमा तीजगीतको सबभन्दा धेरै भाग ल्याउने गायिका हुन्। 

एकल स्वरमा तीजगीत ल्याउने गायिका

अहिले तीजगीत पुरूषको पनि भइसक्यो। हिजोआज सार्वजनिक हुने धेरै तीजगीतमा महिला र पुरूष दुवै गायकले स्वर दिने गरेका छन्। 

तर विष्णु माझीले सधै आफ्नो एकल स्वरमा तीजगीत ल्याउने गरेकी छन्। 

तीजगीत सबभन्दा ढिलो रिलिज गर्ने गायिका

हामीकहाँ असार लाग्नासाथ तीजगीत सार्वजनिक गर्ने होडबाजी देखिन्छ। साउन सुरूदेखि त तीजगीतको बाढी नै आउँछ। यसपालि पनि अहिलेसम्म डेढ सयभन्दा बढी तीजगीत आइसके।

धेरै गायक-गायिका तीजगीत सार्वजनिक गरेर सांगीतिक कार्यक्रमका लागि विदेश पुगिसकेका छन्। 

विष्णु माझी भने यस्ती गायिका हुन्, जसले तीजको दुई साताअघि मात्रै नयाँ गीत ल्याउने गरेकी छन्।

राजेश हमालदेखि नीता ढुंगानासम्मको छमछमी

विष्णुका गीतमा चर्चित कलाकारहरूले नृत्य गरेका छन्।

‘मेरो भेना हङकङको लाहुरे’ मा अभिनेता राजेश हमाल नाचेका छन्।

‘फरर फरिया’ मा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला नाचेकी छन्। 

‘मार्‍यो दैया’ मा नीता ढुंगाना नाचेकी छन्।

उनका पछिल्ला गीतमा भने चर्चाभन्दा केही बाहिर रहेका मोडलहरूलाई लिइएको छ। 

सुटिङको फोटो खिच्न नपाइने

सामाजिक सञ्जालको व्यापकताको यो समयमा कलाकारहरूले रेकर्डिङदेखि नै तस्बिर राख्दै गीतबारे जानकारी दिने गरेका छन्। छायांकनका तस्बिरहरू राख्ने गरेका छन्।

तर विष्णु माझीको गीतको भिडिओ छायांकनका तस्बिरहरू सार्वजनिक भएको देखिँदैन।

विष्णु माझी त छायांकनमै जाँदिनन्। तर भिडिओ छायांकनका तस्बिर पनि टिमका सदस्यले सार्वजनिक गरेको देखिँदैन।

‘पुतलीको भट्टी’ को भाग १५ र १६ लाई कोरियोग्राफी गरेका काजिश श्रेष्ठ भन्छन्, ‘उहाँको सुटिङमा फोटो र भिडिओ खिच्न अनुमति हुँदैन। मैले पनि खिचेको छैन।’

सबभन्दा धेरै हेरिएको लोक-दोहोरी गीतकी गायिका

तीज मात्रै होइन, लोक-दोहोरी गीतमै विष्णु माझीले रेकर्ड बनाएकी छन्। लोक-दोहोरीको इतिहासमा युट्युबमा सबभन्दा धेरै हेरिने गीतमा उनले स्वर दिएको ‘सालको पातको टपरी’ छ। 

झन्डै ६ वर्षअघि सार्वजनिक यो गीतले श्रोता-दर्शकलाई यसरी मोहनी लगाएको थियो, यत्रतत्र सर्वत्र छाएको थियो।

अहिलेसम्म यो गीत युट्युबमा ९ करोड ५८ लाखभन्दा बढीपटक हेरिएको छ। यसका शब्द नवराज पन्तका हुन् भने संगीत बसन्त थापाका। यो गीतमा विष्णु र कुलेन्द्रको स्वर छ। अहिलेसम्मको अवस्थामा यो सबभन्दा धेरै हेरिने लोक-दोहोरी गीत हो।

महँगो पारिश्रमिक लिने गायिका

विष्णु माझीले नेपालमा चलेका व्यावसायिक गायक/गायिकाले लिनेभन्दा महँगो पारिश्रमिकमा थुप्रै गीत रेकर्ड गराएकी छन्। आजभन्दा झन्डै ६ वर्षअघि सालको पातको टपरी उनले ५० हजार रूपैयाँ पारिश्रमिकमा गाएकी थिइन्।

सोही गीतपछि उनको पारिश्रमिक बढेर एक लाख रूपैयाँ पुगेको थियो। त्यसपछि फेरि बढेर दुई लाख रूपैयाँ पुग्यो। दुई वर्षअघिसम्म उनलाई दुई लाख रूपैयाँसम्म पारिश्रमिक तिरेर थुप्रैले गीत रेकर्ड गराएका छन्।

भावना म्युजिक सोलुसनका प्रबन्धक एवं म्युजिक भिडिओमा रूचाइएका मोडल विमल अधिकारी भन्छन्, ‘उहाँसँग दुई लाख रूपैयाँ पारिश्रमिकमा दर्जनौं गीतमा सहकार्य गरेको छु।’ 

पछिल्लो समय भने उनले विष्णुसँग सहकार्य गरेका छैनन्।

बाहिरी गीत गाउन छाडिन्! 

विष्णु माझीका हिट गीतहरू थुप्रै छन्।’सालको पात टपरी, चरी जेलैमा, लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ’ सबै करोड भ्युज क्लबमा पुगिसकेका गीत हुन्।

सिआरबिटी/पिआरबिटीको जमानामा आएका उनका दर्जनौं गीत अहिले पनि उत्तिकै प्रिय छन्। केही वर्ष अघिसम्म बाहिरी गीत गाइरहेकी विष्णु माझीले पछिल्लो दुई वर्षयता भने अरूका गीत गाएकी छैनन्।

पहिले धमाधम सहकार्य, अहिले चाहेर पनि हुँदैन

उनीसँग सहकार्य गर्न चाहनेहरू थुप्रै छन्। तर पछिल्लो समय चाहेर पनि सहकार्य हुन नसकिरहेको गायक कुलेन्द्र विश्वकर्मा बताउँछन्।

‘उहाँसँग डेढ सयभन्दा बढी गीतमा सहकार्य गरेको छु। तर सालको पातको टपरीपछि चाहेर पनि सहकार्य हुन सकिरहेको छैन,’ उनले भने। 

उनका अनुसार विष्णु माझीको पारिश्रमिक फेरि निकै बढेको सुनिएको छ। त्यसमाथि विष्णुलाई गाउन दिन उनका श्रीमान सुन्दरमणि अधिकारीसँग कुरा गर्नुपर्ने हुन्छ। तर उनीसँग पनि सहज तरिकाले कुरा हुन नसक्दा पछिल्लो समय सहकार्य नजुरेको यसअघि सहकार्य गरेका गायकहरू बताउँछन्। 

कतिपय भने विष्णुले बाहिरी गीत नगाउने सोच बनाएकाले महँगो पारिश्रमिक भनेको बताउँछन्।

अधिकांशमा श्रीमानको शब्द-संगीत, भिडिओमा उनकै निर्देशन

विष्णु माझीको ‘पुतलीको भट्टी’ सपना म्युजिक इन्डस्ट्रिजको प्रस्तुतिमा आउने गरेको छ। भिडिओ पनि यसकै युट्युबमा सार्वजनिक हुन्छन्। यो गीतका अधिकांश भागमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीकै शब्द तथा संगीत छ।

भिडिओ निर्देशन पनि उनैले गर्दै आएका छन्। कुनै भिडिओमा उनी देखिएका पनि छन्। पछिल्ला तीजगीत ‘चरी जेलैमा’, ‘बलमा’ मा उनको अभिनय थियो।

अब यसपालि विष्णुले गीत ल्याउँछिन् कि ल्याउँदिनन्, ल्याइन् भने गीत कस्तो हुन्छ, कसको अभिनय हुन्छ, त्यो त हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here