काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले २०७७र०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिएका छन ।
सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुदेश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो । त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ ।
यस अघि तारकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो । त्यसैगरी किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ ।
उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ । त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ । यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो । त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ ।
भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ । आज सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि रु एक करोड सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ ।
यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि रु एक करोड नै सहयोग गरेको थियो । केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि आजै प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि रु एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो । चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताएका छन । ‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उनले भने , ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो हामीले पनि मायाँ गर्नुपर्छ महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’
‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचिमा सूचिकृत चार ओटा सम्पदा छन्, अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्,’ उनले भने , ‘हामी यी दुई बीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले पनि यो सम्झौता गरिरहेका छौँ ।’
काठमाडौँ महानगरपालिकाले यस अघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तरगर्त सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएका छ ।
प्रतिक्रिया दिनुहोस्