ड्राइभिङ लाइसेन्सका लागि लाखौं मानिस पर्खाइमा

श्रोत : ईन्टरनेट

शुक्रबार, काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।

कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।

frontline

सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो ।

अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् ।

यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।

पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षा खुलाउने तयारी गरेका थिए ।

तर, संक्रमण बढ्न थालेपछि विभाग अहिले नै परीक्षा खुलाउनेबाट पछि हटेको छ ।

संक्रमण बढेसँगै सरकारले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ ।

कतिपय स्थानमा स्थानीय तहले निषेधाज्ञा जारी गर्ने तयारीसमेत गरेका छन् ।

लाइसेन्सको नियमित रूपमा परीक्षा सञ्चालन हुन नसक्दा परीक्षा दिनेहरू लामो समयदेखि पालो कुर्नुपर्नेमा पुगेका हुन् ।

१८ वर्ष उमेर पुगेपछि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर, निषेधाज्ञाअघि नै करिब ६ लाख जनाले लाइसेन्स परीक्षाका लागि आवेदन दिएको विभागले जनाएको छ ।

विभागले हाल देशभर करिब १३ लाखले नयाँ लाइसेन्सका लागि कुरेको हुन सक्ने अनुमान गरेको छ ।

यसअघि वार्षिक रूपमा ६ लाखले लाइसेन्सका लागि परीक्षा दिने गरेको विभागको तथ्यांकले देखाउँछ ।

सरकारले पछिल्ला वर्षदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । २० लाखले स्मार्ट लाइसेन्स लिएको र ७ लाखले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको विभागले जनाएको छ ।

सरकारले गत वर्ष कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा बन्द गरेर पुस २०७७ मा नौ महिनापछि खुलाएको थियो ।

कोरोना संक्रमण वृद्धि भएपछि सरकारले पुनः वैशाख दोस्रो सातादेखि लाइसेन्सका लागि लिने परीक्षा स्थगित गरेको थियो ।

बाग्मती प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालयले एक सूचना प्रकाशित गरेर अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here