डरलाग्दो हत्याः सुब्बाले सहयोग माग्दा ज्यान नै गयो

श्रोत : ईन्टरनेट

काठमाडौं । युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको गत मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका –७ दक्षिणकाली मन्दीर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा हत्या गरिएको अवस्थामा शव भेटियो। घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्थ्यो।

जंगलमा च्याउ टिप्न गएका महिलाले शव देखेपछि स्थानीय प्रहरीलाई आतिँदै फोन गरेर सूचना दिएका थिए। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, कीर्तिपुर प्रहरी वृत्त, स्थानीय प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेर अनुसन्धानमा खटियो।

frontline

सुरुमा उक्त शव कसको हो भनेर पहिचान नभएपनि अनुसन्धानपछि मात्रै कालोपुल बस्ने सन्तोषी सुब्बाको रहेको खुलेको हो। सन्तोषीको क्रुर ढंगले हत्या गरिएको थियो। सुब्बाको सुरूमा घाँटीमा सलले कसेर प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको थियो।

सन्तोषी र आक्रमणकारीबीच हातपात भएको संकेत घटनास्थलमा भेटिएको थियो। जसको कारण सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको सहजै अनुमान लगाउन सकिन्थ्यो। घटनास्थलको प्रकृति हेर्दा पनि बलात्कार गरिएको देखिएपछि प्रहरीले आफ्नो अनुसन्धानलाई त्यतै मोडेको थियो।

निषेधाज्ञाको समय भएर प्रहरीलाई पनि लागेको थियो– घटनामा संलग्न व्यक्तिको छिटै पहिचान हुन्छ। अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले एक शंकास्पद युवकसँग घटनाको दिन सन्तोषीको चार घण्टा लामो कुराकानी भएको खुल्यो। त्यसैलाई आधार मानेर जाने क्रममा घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्रन सफल भयो।

सन्तोषीको हत्या आरोपीलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार राति साढे ६ बजेको समयमा पक्राउ गरेको हो। महाशाखाले पक्राउ परेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी– १४ घर भई हाल दक्षिणकाली नगरपािलका –७ का २९ वर्षीय सुरेश तिमल्सिनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या गरेको पक्राउ परेका अभियुक्त सुरेशले स्वीकार गरेको प्रहरीको भनाइ छ। सुरेशले यौनसम्पर्क गर्न खोज्दा नमानेपछि विवाद हुँदा आवेगमा आएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीका अनुसार सन्तोषीलाई ६ असारमा तिमल्सिनाले बलत्कार प्रयास गरेका थिए।

सुरेश काठमाडौं–दक्षिणकाली चल्ने गाडीको सहचालक हुन्।

घटना कसरी भयो?

विभिन्न पशुपन्छीको आवाज निकालेर भाइरल सन्तोषी कालोपुलमा धर्मबुबा धनबहादुर तामाङसँग बस्दै आएकी थिइन्। उनी धेरै प्रजातिका चराको स्वर निकाल्ने कलामा पनि पोख्त थिइन्। उनले पशुपन्छी तथा चराचुरुङ्गीहरुको आवाज निकालेको भिडियो अहिले पनि छ।

त्यसैले सन्तोषी बेला–बेला यसरी नै डुलिरहन्थिन्। सोही क्रममा गत असार ५ मा प्रहरीका अनुसार सन्तोषी दक्षिणकाली पुगेकी थिइन्। त्यो दिन उनी दक्षिणकालीमा रहेको होटल पदम संवत्‌मा एक्लै बसिन्।

मृतक सन्तोषी सुब्बा।

त्यसको भोलिपल्ट उनी बिहानको खाना खाएर होटलको सबै पैसा तिरेर त्यहाँबाट हिँडिन्। त्यसपछि उनी दक्षिणकाली मन्दीर जाने बाटोमा रहेको एक खाजा पसलमा छिरिन्। चिया अर्डर गरिन्। छुट्टै कुर्सीमा बसिन्।

अभियुक्त सुरेश त्यहीँ खाजाघरमा मदिरा पिउँदै बसेका थिए। त्यही क्रममा सन्तोषी र सुरेशको चिनजान भएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापाुङले जानकारी दिए।

उनीहरु करिब ४ घण्टा त्यहि खाजाघरमा बसेर कुरामानी गरे। सन्तोषीले आफू जनावरहरुको आवाज निकाल्ने कलाकार भएको बताइन्। युट्युबमा रहेका केही भिडियोहरू सुरेशलाई देखाइन्। होटल सञ्चालकलाई पनि देखाइन्।

त्यतिबेलासम्म सुरेशले मदिरा नै पिइरहेका थिए, भने सन्तोषीले पछि खाजा खाएकी थिइन्। खाजा खाएपछि सन्तोषीले आफूसँग पैसा नभएको बताइन्। प्रहरीको अनुसन्धानमा पनि पक्राउ परेका सुरेशले सोहीकुरा बयान दिएको एसएसपी खापुङले बताए।

त्यसपछि सुरेशले खाना खाने र बस्ने पैसा छैन भने म व्यवस्था गरिदिन्छु भने। ‘सन्तोषीले खाना खाने पैसा नभएको बताएपछि सुरेशले आफ्नो गाडीमा बस्ने र खाने व्यवस्था मिलाइदिन्छु भनेको देखिन्छ। त्यसपछि सहमतिमै उनीहरू त्यहाँबाट हिँडेको बयानमा सुरेशले बताएको छ,’ एसएसपी खापुङले भने।

दुवैजना सँगै निस्केका उनीहरु गाडी भएको ठाउँतिर गए। त्यहाँसम्म जाने क्रममा सन्तोषीको शरीरमा छोइँदा आफूलाई यौन इच्छा जागेको उनले प्रहरीसँगको बयानमा बताएका छन्। खापुङले भने, ‘त्यसपछि सुरेशले यौन प्रस्ताव राखेको र सन्तोषीले पहिला मानेको बताएको छ। तर पछि सन्तोषीले यौनसम्पर्क गर्न नमानेपछि आक्रमण गरेको स्वीकारेको छ।’

सुरेशले विवाद भएपछि सन्तोषीको सलले घाँटी थिचेर हत्या गरेको र शव पहिचान नहोस् भनेर ढुंगाले मुखमा हानेर क्षतविक्षत बनाएको बयान प्रहरीलाई दिएका छन्। ‘सन्तोषीको शव उनले भनेकैजस्तो अवस्थामा भेटिएको थियो। यहाँसम्म कि बंगारा समेत बाहिर फेला परेको थियो,’ महाशाखाका एसपी कृष्ण कोइरालाले भने।

विवादका क्रममा सन्तोषीले प्रतिवाद गर्दा उनको पाखुरामा चोट पनि लागेको छ।

यता, घटनास्थलको प्रकृति हेर्दा यौनसम्पर्क भएको जस्तो देखिन्छ। घटनास्थलमा सन्तोषीको शव नग्न अवस्थामा थियो। सन्तोषीले लगाएका कपडा च्यातिएको अवस्थामा बरामद भएको थियो। अन्डरवेयर (भित्री वस्त्र) समेत छियाछिया पारेर फालेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा मृतकले लगाएको माला चुडिएको छ। सामान छरपष्ट पनि।

‘सन्तोषीको यौनीमा केही स्वाब पनि देखिएको छ। त्यस कारणले यौनसम्पर्कपछि विवाद भएर हत्या गरेको भन्ने देखिन्छ, तर फरेन्सिक ल्याबको रिपोर्ट नआइसकेकाले बलात्कार भएको थियो या थिएन भन्न सकिँदैन,’ एसपी कोइरालाले भने।

प्रहरीका अनुसार घटना साँझ ८ः१५ बजेको समयमा भएको देखिन्छ। त्यसपछि सुरेश फर्पिङमा आएर घरमा आमा बिरामी भएको बहाना गर्दै अर्जेन्ट ट्याक्सी रिजर्भ गरी २ हजार भाडा तिरेर काठमाडौं आएका थिए। उनी कोठामा आइपुग्दा रातिको साढे ९ भएको थियो।

६ गते खाजाघरमा सन्तोषीले बोत्तलमा गँगटो पनि ल्याएकी थिइन्। सो कुरा खाजाघर सञ्चालक र अन्य व्यक्तिहरुले समेत देखेका थिए। घटनास्थलबाट प्रहरीले बोत्तलमा गँगटो पनि फेला पारेको थियो। त्यसैलाई आधार मानेर प्रहरीले सोधपुछ गर्दा सुरेशसँग गएको पत्ता लागेको थियो।

त्यसपछि प्रहरीले सुरेशलाई रेकी गर्न थालेको हो। त्यहाँबाट हिँडेपछि मोबाइल स्विच अफ गरेका कारणले प्रहरीले तुरुन्तै सुरेशलाई पक्राउ गर्न सकेन। खोज्दै जाँदा हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो।

सुरेशले सुरुमा ढुंगाले प्रहार गरेर हत्या गरेपछि मृतकको मोबाइल समेत लिएर भागेको प्रहरीको भनाइ छ। प्रहरीले सुरेशको कोठाबाट उनको मोबाइल, चार्जरलगायत अन्य सामानहरु समेत बरामद गरेको छ। मृतक सुब्बाको मोबाइलबाट अनुसन्धान अघि बढाएको प्रहरीले सोही आधारमा पनि अभियुक्तसम्म पुगेको हो।

काठमाडौं उपत्यकाभित्र हत्याका लगातारका श्रृङ्खलाले यो केस प्रहरीसामु थपिएपछि चुनौती भएको थियो। त्यसमाथि चराको आवाज निकाल्ने कलाकार भएको थाहा पाएपछि प्रहरीलाई सहज भएको अनुसन्धान अधिकृतहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

poster-here