टोखाले अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बनाउने
फ्रन्टलाइन पालिका । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै नगरपालिकाले अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।
नगरपालिकाका मेयर प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिनुभयो । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुने उहाँको भनाई छ ।
राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शैया हुने नगरपालिकाले जनाएको छ । नपाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ ।
पहिलो चरणमा कोरोना सङ्क्रमणका बिरामीको उपचार गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणको उपचार गर्नेसमेत जनाएको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बिरामीको उपचार गर्न मिल्नेछ ।
यस्तै नपाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेको बिरामीको उपचारका लागि स्थानीय तहभित्रका नीजि अस्पतालसँग सहकार्य गर्ने भएको छ । उक्त नगरपालिकाले ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रीनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोँगबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्