टर्कीको कोइला खानीमा विस्फोट हुँदा २५ जनाको मृत्यु, दर्जनौँ पुरिए

२९ असोज, काठमाडौं । उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जना मारिनुका साथै दर्जनौँ मानिसहरू पुरिएका छन्।

विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए।

frontline

टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्।

आपतकालिन उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन्।

ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरा स्थित खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पुरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडिओहरू सार्वजनिक भएका छन्।

खानीमा हराइरहेकाहरूका आफन्तहरू पनि उद्धारको पर्खाइमा बसिरहेका देखिन्छन्।

खानीको ३०० मिटर गहिराइमा विस्फोट भएको ठानिएको छ। टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीको ३०० देखि ३५० मिटर गहिरो जोखिमपूर्ण क्षेत्रमा ४९ जना कामदारहरू खटिएका थिए।

“उनीहरूलाई हामीले उक्त क्षेत्रबाट उद्धार गर्न सकिरहेका छैनौँ,” घटनास्थलमा रहेका सोएलुले पत्रकारहरूसँग भने।

विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन र अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन्।

टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरूबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताएका छन्।

“हाम्रो लागि यो साँच्चिकै पश्चात्तापपूर्ण अवस्था हो,” उनले भने।

खानीको सुरुङ आंशिक रूपमा अवरुद्ध भएको तर हावाको आवतजावत गर्ने बाटो बन्द नभएको उनले जानकारी दिए। खानीभित्र आगो बाँकी नरहेको पनि उनले बताएका छन्।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले घटनास्थलको अवलोकन गर्ने तयारी गरिरहेका छन्।

अमासराका मेयर रेकाइ काकिरले जीवितै उद्धार गरिएकाहरूमध्ये धेरै गम्भीर घाइते रहेको बताएका छन्।

खानीबाट भागेर बाहिर निस्कन सफल एकजना कामदारले भित्र धुवाँ र धुलो फैलिएको तर के कारण त्यस्तो भयो भन्ने थाहा नभएको बताएका छन्।

खानी टर्कीको सरकारी कम्पनी टर्कीस हार्ड कोल इन्टरप्राइजेजले सञ्चालन गरेको थियो।

सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको यस्तो कोइलाखानी विस्फोटमा ३०१ जना मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here