जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाइँदै
२५ असार, काठमाडौं । मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज शनिबार राष्ट्रिय शोक मनाइँदैछ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
६७ वर्षीय आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो ।
आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको घोर भत्र्सना गर्दै सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यसैबीच, हत्याको अनुसन्धान गरिरहेको जापानीज प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ ।
४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको समेत बताएका छन् । तर, समूहको नाम बताइएको छैन ।
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजेतिर दक्षिण पश्चिम जापानको नारा सहरमा राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्