जसपा ७ मन्त्रालयसहित सरकारमा
आइतबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने टुंगो लागेको छ ।
सत्ता गठबन्धनको एक घटक जसपाका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।
जसपा संसदीय दलको नेतामा सर्वसम्मत शनिबार मात्रै चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने भएको एक नेताले बताए ।
स्रोतका अनुसार यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको छ ।
आफ्नो भागमा ७ मन्त्रालय परेको जसपामा मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न अन्तिम छलफल भइरहेको छ ।
अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरिसकेका छन् ।
त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा रहेको छ ।
ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई पनि विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेको एक नेताले बताए ।
त्यस्तै राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ ।
इस्तियाक राई, अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूको भनाई छ ।
प्रदेश-१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्