जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

समाचार सारांश
- जनमत पार्टीमा घरजग्गा विवाद चुलिएको छ, ललितपुरस्थित घरको स्वामित्वलाई लिएर पार्टीभित्रै मतभेद बढेको छ।
- निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले घर आफ्नो निजी लगानीमा खरिद गरेको दाबी गर्दै आएका छन् भने अध्यक्ष राउतले पार्टीको बताउँदै आएका छन् ।
- पार्टी प्रवक्ताको उजुरीपछि यादव पक्राउ परे, यादवले घर श्रीमतीको नाममा राखेको आरोप छ भने पार्टी रकम हिनामिना गरेको पनि आरोप लागेको छ।
- विवादित घरमा अध्यक्ष राउत भाडामा बसेको र घर बहाल सम्झौता देखाएर अदालती प्रयोजनका लागि मात्रै प्रयोग गरेको आरोप छ।
काठमाडौँ । जनमत पार्टीभित्र घरजग्गा विवाद चुलिएको छ । ललितपुर, इमाडोलस्थित घरका बारेमा पार्टीभित्र केही समय यता विवाद बढ्दै गएको हो ।
पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले उक्त घर आफ्नो निजी लगानीमा खरिद गरेको दाबी गरिरहँदा अध्यक्ष डा. सीके राउतले भने पार्टीले खरिद गरेको दाबी गर्दै आएका छन् ।




पार्टीका लागि ललितपुरको महालक्ष्मी नगरपालिका, इमाडोलमा खरिद गरिएको घर पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफ्नो श्रीमतीको नाममा राखेको भन्दै प्रहरीमा उजुरी गरिएको थियो । सोही उजुरीका आधारमा यादव हाल थुनामा छन् ।
पार्टीको रकम हिनामिना गरेको तथा पार्टीको घर जग्गा आफ्नो नाममा राखेको र पटक–पटक पार्टीको नाममा नामसारी गर्न आग्रह गर्दा नगरेको आरोप लगाउँदै सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले पार्टीको तर्फबाट ललितपुर प्रहरी परिसरमा उजुरी दिएका थिए ।
सो उजुरीको आधारमा सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
निलम्बित कोषाध्यक्ष यादवले आफ्नो व्यक्तिगत लगानीमा सो खरिद गरेर श्रीमती ललिता यादवको नाममा राखेको जिकिर गर्दै आएका छन् । स्रोतका अनुसार इमाडोलमा रहेको सो घर सुरुमा पार्टीले खरिद गर्ने भनिएको थियो । त्यसका लागि बैना दिए पनि पछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बेवास्ता गरेपछि कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बैंकबाट ऋण लिएर तथा अन्य स्रोतबाट सो घर खरिद गरेको दाबी गरिएको छ ।
पछि सो घर अध्यक्ष राउतले एउटा व्यक्तिको नाममा नामसारी गर्न भनेपछि सुरेन्द्रनारायण यादव मानेनन् । उनले पार्टीको नाममा मात्र नामसारी गर्ने, व्यक्तिको नाममा नगर्ने अडान लिएपछि विवाद बढेको पार्टीका नेताहरू बताउँछन् ।
निलम्बनमा परेका उपाध्यक्ष ई.दीपक साहको घरमा बस्दै आएका जनमत पार्टीका अध्यक्ष राउत अन्ततः सुरेन्द्रनारायण यादवले खरिद गरेको सोही घरमा सरेका थिए । त्यो घरमा उनी भाडामा बस्न थालेको सुरेन्द्र यादव पक्षको दाबी छ । २०८० फागुन १ गते घर बहाल सम्झौता गरेर महिनाको २५ हजार रुपैयाँ तिर्ने गरी सो घरमा बस्न थालेको सुरेन्द्रनारायण यादव पक्षको दाबी छ ।
अध्यक्ष सीके राउत भने उक्त घर निर्माण पूर्णतः सम्पन्न हुनु अगाडि र घर औपचारिक नामसारी गर्नु अगाडिदेखि नै सो घरमा सपरिवार बस्दै आएको उनको सचिवालयको दाबी छ ।
ललितपुर जिल्ला अदालतमा एउटा मुद्दा दायर गर्न गत भदौमा अस्थायी बसोबासको प्रमाणपत्र आवश्यक पर्दा अदालती प्रयोजनका लागि सो सम्झौता पत्र बनाएको सो पक्षको जिकिर छ ।
अध्यक्ष राउतले आफू बस्ने घर पार्टीको भए पनि कोषाध्यक्षकी श्रीमती ललिता यादवको नाममा रहेकाले अदालती प्रयोजनको लागिमात्रै बहाल सम्झौता बनाइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए । घर भाडा सम्बन्धी सम्पूर्ण प्रमाण अदालतमा पेस गरिएको उनले बताएका छन् ।
अध्यक्ष राउतले गत भदौमा अदालती प्रयोजनका लागि घर बहाल सम्झौता गरेको दाबी गर्दै आए पनि रातोपाटीलाई प्राप्त सम्झौतापत्रमा २०८१ फागुन १ गतेदेखि मात्र लागु हुनेगरी सम्झौता भएको देखिएको छ ।
२०७९ को निर्वाचनपछि अध्यक्ष राउत जनकपुरबाट सरेर काठमाडौँमै बस्नु पर्ने भएकाले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पार्टीका लागि घर किन्न जनमत पार्टीका सांसदहरूले रकम उपलब्ध गराएको पार्टीको दाबी छ ।
पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले त्यसको सूची ललितपुर प्रहरी कार्यालयमा पनि बुझाएका छन् । सचिवालय प्रमुख मण्डलले रातोपाटीलाई पठाएको सूची अनुसार संघीय सांसद विनिता सिंह दनुवारले १५ लाख, सांसद सोनु मुर्मुले १५ लाख, मधेस प्रदेश सभाका उपसभामुख बबिता राउत इसरले १० लाख, सांसद हसिना खातुनले १४ लाख, सांसद रञ्जु खंगले १४.५ लाख, भाग्यश्री चौधरीले १५ लाख रकम घर किन्नका लागि बुझाएका छन् ।
यस्तै, सांसद वसन्त कुशवाहाले ३२ लाख, सांसद अब्दुल खानले २५ लाख, सांसद महेशप्रसाद यादवले आठ लाख र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले २४ लाख गरी एक करोड साढे ७२ लाख रुपैयाँ कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको निजी खातामा पठाएका थिए ।
पार्टीका प्रवक्ता यादवका अनुसार अधिकांश सांसदले बैंकबाट ऋण लिएर घर किन्न सो रकम जम्मा गरेको दाबी गरेका छन् । घर किन्न बाँकी रकम गरिमा विकास बैंकबाट ललिता यादवको नामबाट ऋण लिइएको थियो । सो ऋणबापत जनमत पार्टीले सुरूदेखि आफ्नो आधिकारिक बैंक खातामार्फत् हालसम्म ५५ लाख रुपैयाँ किस्ताबापत तिरिसकेको दाबी गरेको छ ।
तर सुरेन्द्रनारायण यादवले घर भाडाबापत किस्ता रकमको रूपमा पार्टीले तिरिदिएको दाबी गर्दै आएका छन् । घर बहाल सम्झौता गरेदेखि हालसम्म सम्झौता अनुसार घर भाडा नतिरेको दाबी सुरेन्द्र पक्षको छ । ‘घर भाडाबापत नै हालसम्म ६५ लाख रुपैयाँ पाउनुपर्ने हो । जनकपुरमा पनि अध्यक्ष राउत सुरेन्द्रनारायण यादवले नै खरिद गरेको घरमा बस्दै आएका थिए,’ सुरेन्द्र यादव निकट स्रोतले भन्यो, ‘त्यहाँबाट सुरेन्द्रनारायणले हटाएपछि अध्यक्ष राउत सप्तरी सरेका थिए ।’ त्यो घरमा बसेको भाडा पनि राउतले नदिएको सुरेन्द्रनारायण यादवको दाबी छ ।
सांसदहरूले पठाएको रकम विभिन्न बहानामा अध्यक्ष राउतले लिएको दाबी सुरेन्द्रनारायण यादवले प्रहरी समक्ष गरेको स्रोतले बतायो । सांसदहरूले पार्टी फण्डका लागि पठाएको सो रकम अध्यक्ष राउतले विभिन्न बहानामा आफूसँग लिएको बयान प्रहरीलाई सुरेन्द्रनारायणले दिएको स्रोतले दाबी गरेको छ ।
पार्टीबाट उनलाई स्पष्टीकरण सोधेपछि सुरेन्द्रनारायणले अध्यक्ष राउतलाई पाँच करोडभन्दा बढी रकम दिएको र सो रकमको हिसाब माग्दा आफूलाई कारबाही गरेको सञ्चारकर्मीसमक्ष बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्