छुट्टाछुटै सवारी दुर्घटनामा दुई युवा डाक्टरको मृत्यु

३ मंसिर काठमाडौं । सवारी दुर्घटनामा परी बिहीबार एकैदिनमा दुई युवा डाक्टरले ज्यान गुमाएका छन्। कपिलवस्तु र मोरङमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा डाक्टर दीपक खरेल र निखिल पन्जियारको मृत्यु भएको हो।  उनीहरू दुबै जना २७ वर्षका थिए।

भाइटीकाको दिन कपिलवस्तुको बुद्धभूमिमा मोटरसाइकल दुर्घटनामा परेका डाक्टर खरेलको उपचारको क्रममा बिहीबार बिहान काठमाडौं ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

frontline

कपिलवस्तुको वाणगंगा नगरपालिका-८ का २७ वर्षीय डाक्टर खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।

कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले अनुसार डाक्टर खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घटनामा परेको थियो।

दिउँसो अस्पतालमा आएर उनी ४-५ बजेतिर दिदी-बहिनीबाट टीका लगाउन घर गएका थिए।

‘टीका लगाएर साथीभाइसँग बाहिर घुम्न जाँदा मोटरसाइकल दुर्घटना परेछ। परिवारले त राति साढे ३ बजेतिर मात्र थाहा पाएका थिए,’ पोखरेलले भने।

खरेल मोटरसाइकलमा पछाडि बसेका थिए। मोटरसाइकल चालकको अवस्था भने सामान्य छ।

टाउकोमा गम्भीर चोट लागेका खरेललाई सुरूमा उपचारका लागि बुटवलको क्रिमसन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको मेडीसिटी अस्पताल ल्याइएको थियो।

मेडीसिटीबाट उनलाई ट्रमा सेन्टर सारिएको थियो। उनको उपचारका लागि सहयोगसमेत जुटाइएको थियो।

सामान्य परिवारका खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए।

‘नेपालबाटै एमबिबिएस गर्नुभएका खरेल आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर अन्तबाट अफर आउँदा पनि यही अस्पतालमा काम गरिरहनुभएको थियो,’ पोखरेलले भने, ‘निकै लगनशील र मेहनती हुनुहुन्थ्यो। के गर्नु यस्तो भइहाल्यो!’

उता डाक्टर पञ्जियार चढेको मोटरसाइकललाई बिहीबार राति मिनी ट्रकले ठक्कर दिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका-४ स्थित आयल निगमछेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डा. निखिल चढेको प्र-२-०२-००३-प-२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो।

उपचार क्रममा राति ११:४५ बजे उनलाई अस्पतालले मृत घोषित गरेको थियो।

डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी छ।

जनकपुर-३ घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबिबिएस पास गरेका थिए।

उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए।

उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए।

को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो।

प्रहरीले शुक्रबार बिहान बुढीगंगा-२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ। चालक भने अझै फरार छन्। प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here