चोभार सुक्खा बन्दरगाहबाट निर्यात शुरु
२९ असार, काठमाडौं । काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाहबाट निर्यात शुरु भएको छ । मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।
पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।
उनकाअनुसार एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो। उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ । उनकाअनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो ।
१५ कन्टेनर सामग्री आयात
चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । बन्दरगाह सञ्चालनमा आए यता १५ कन्टेनरमा रु सात करोड ३९ लाख बढीको सामग्री बरगाहमा भित्रिएका छन् ।
चोभार बन्दरगाहमा वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुमात्र सिधै चोभार भित्रन पाउनेछन् ।
उक्त पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन् ।
सरकारले चोभार सुक्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारीपश्चात् रु एक खर्ब ६० करोड लागतमा २६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो । -रासस
प्रतिक्रिया दिनुहोस्