चुहिने छानामुनि स्वास्थ्य सेवा
(बागचौर) सल्यान : सल्यान जिल्लाको बागचौर नगरपालिका–८ कोटमौलामा रहेको स्वास्थ्यचौकीको भवन बाहिरबाट हेर्दा सुविधासम्पन्न अस्पताल जस्तै देखिन्छ। तर, भवनभित्र प्रवेश गर्नेबित्तिकै छतबाट चुहिने पानी, रसाएका भित्ताहरू र कोठाभरि थापिएका बाल्टिनहरूले वास्तविक पीडाको चित्र देखाउँछ।
झन्डै चार–पाँच वर्षदेखि छत चुहिने समस्या हुँदा पनि मर्मत हुन नसक्दा यहाँका स्वास्थ्यकर्मी र सेवाग्राही वर्षात्को समयमा अत्यन्तै कष्टकर अवस्थामा सेवा लिन र दिन बाध्य भएका छन्। ठूलो पानी परेपछि स्वास्थ्यचौकीका कोठाभित्रै पानी थाप्न बाल्टिन राख्नुपर्छ भने सेवाग्राही र स्वास्थ्यकर्मीहरूले छाता ओढेरै उपचार सेवा लिनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
२०३० सालमा स्थापना भएको उक्त स्वास्थ्यचौकीको पक्की भवन १२ वर्षअघि भवन तथा सहरी विकास कार्यालय सुर्खेतले निर्माण गरेको थियो। निर्माणपछि केही वर्षमै छतबाट पानी चुहिन सुरु भए पनि सम्बन्धित निकायले समयमै चासो नदिँदा अहिले भवनको अवस्था झन् दयनीय बन्दै गएको छ।
स्वास्थ्यचौकीका इन्चार्ज दीपेन्द्र गिरीका अनुसार भवन मर्मतका लागि विभिन्न निकायमा पटक–पटक अनुरोध गरिए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।
पानी परेका बेला बिरामीलाई सेवा दिन निकै समस्या हुन्छ। कोठाभित्र पानी चुहिन्छ, भित्ताहरू रसाएका छन्। प्रसूति सेवा सञ्चालन गरिएको अर्को भवनको अवस्था पनि उस्तै छ। इन्चार्ज गिरीले दुःखेसो पोख्दै भने। दैनिक २५ देखि ३० जनासम्म सेवाग्राही आउने उक्त स्वास्थ्यचौकीबाट वडा नम्बर ८ का स्थानीयसहित वडा नम्बर ९ तथा रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाका ३ र ५ नम्बर वडाका नागरिकहरूले समेत स्वास्थ्य सेवा लिन आउने गरेका छन्। तर, वर्षायाम सुरु भएसँगै उपचारभन्दा पहिले पानी जोगाउने चिन्ता बढ्ने गरेको त्यहाँका स्वास्थ्यकर्मीहरूको गुनासो छ।
६ सय ४० भन्दा बढी घरधुरी र करिब ६ हजार ५ सय जनसंख्या रहेको यस वडाको एउटै स्वास्थ्यचौकी भरपर्दो आधार भए पनि भवन जीर्ण बन्दै जाँदा स्थानीयहरू चिन्तित छन्। वडाध्यक्ष सुशीलजंग चन्द भन्छन्, भवन बाहिरबाट हेर्दा राम्रो देखिन्छ, तर पानी परेपछि भित्रको अवस्था निकै कहालिलाग्दो हुन्छ। सबै कोठामा बाल्टिन थापेर सेवा दिनु परेको छ। भित्ताहरू चिरा परेका छन्। मर्मतका लागि धेरै ठाउँमा पहल गरियो तर कतैबाट सहयोग भएन।
अध्यक्ष चन्द भन्छन्, नगरपालिका, अन्य सरकारी निकाय र संघसंस्थालाई मर्मतका लागि अनुरोध गर्दासमेत कसैले चासो नदिँदा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा समेत आधारभूत संरचनाको बेवास्ताले स्थानीय नागरिकहरू पीडित बनेका छन्। समयमा मर्मत सम्भार नहुँदा कुनै दिन ठूलो दुर्घटना हुन सक्ने अवस्थासमेत देखिएको उनले बताए।






प्रतिक्रिया दिनुहोस्