बेलायतका प्रधानमन्त्रीलाई पद छोड्न आफ्नै सांसदको दबाब, ८६ जनाले मागे राजीनामा

लन्डन : बेलायतका प्रधानमन्त्री किएर स्टार्मरको सरकारबाट थप एक मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री एलेक्स डेभिस-जोन्सले आफ्नो पदबाट राजीनामा दिएसँगै स्टार्मर सरकार छाड्ने मन्त्रीहरूको सङ्ख्या तीन पुगेको छ

मन्त्री एलेक्स डेभिस-जोन्सले सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै प्रधानमन्त्री स्टार्मरलाई ‘देशको हितमा काम गर्न र आफ्नो विदाईको समयतालिका तय गर्न’ आग्रह गरेकी छन्। उनीभन्दा अघि मन्त्रीहरू जेस फिलिप्स र मिआटा फानबुल्लेहले पनि सरकारबाट राजीनामा दिइसकेका छन्।

frontline

हालसम्म लेबर पार्टीका ८६ जना सांसदहरूले प्रधानमन्त्री स्टार्मरको राजीनामा वा पद त्याग्ने समयसीमा घोषणा गर्न माग गरिसकेका छन्। गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रदर्शन निराशाजनक रहेपछि प्रधानमन्त्रीमाथि दबाब चुलिएको हो।

विद्रोहका बीच स्टार्मरको बचाउमा पनि केही सांसदहरू उभिएका छन्। लेबर पार्टीका १०० भन्दा बढी सांसदहरूले प्रधानमन्त्रीको समर्थनमा एक संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा भनिएको छ,’चुनावको नतिजा निराशाजनक छ र मतदाताको विश्वास पुनः जित्न कठिन चुनौती छ। तर, यो नेतृत्व परिवर्तनको प्रतिस्पर्धा गर्ने समय होइन। हामी सबै मिलेर देशलाई आवश्यक परिवर्तनका लागि काम गर्नुपर्छ।’

सन् २०२४ को आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभ पार्टीलाई सत्ताच्युत गर्दै लेबर पार्टीले भारी बहुमतका साथ सत्ता सम्हालेको थियो। तर, दुई वर्षभित्रै स्थानीय निर्वाचनमा आएको कमजोर नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here