चिनियाँ सामान नाकामै, महँगिँदै दसैं बजार
काठमाडौं : दसैं–तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फँस्ने सम्भावना छ भने अर्कोतिर चाडपर्वको बजार महँगिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्याएपछि रसुवागढी नाका बन्द भएको थियो। त्यसपछि पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट हुने आयात–निर्यात पनि रोकेको थियो। काठमाडौंसँग तुलनात्मक रूपमा नजिक रहेका यी दुवै नाका बन्द भएपछि व्यापारीहरूले मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका थिए। तर, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ।
कोरला नाकाबाट नेपाल भित्रिएका करिब दुई सय कन्टेनर सामान र सयौं विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्। एकपछि अर्को व्यापारिक मार्ग अवरुद्ध हुँदा चीनबाट सामान ल्याउने व्यवसायी थप समस्यामा परेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की चीनतर्फका नाकामा अवरोध हुँदा बजारमा सामानको आपूर्ति सहज हुन नसकेको बताउँछन्।






प्रतिक्रिया दिनुहोस्