चिनियाँ जनक‌ंग्रेसका अध्यक्ष लि चानसु भोलि नेपाल आउँदै

२६ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रिय जनक‌ंग्रेसका स्थायी समिति अध्यक्ष लि चानसु नेतृत्वको टोली भोलि नेपाल भ्रमणमा आउने भएको छ।

चानसु नेतृत्वको टोलीको सुरक्षा र तिब्बती शरणार्थीले गर्न सक्ने विरोधका कार्यक्रमबारे आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। 

frontline

बैठकमा गृहमन्त्री खाडले सुरक्षा अधिकारीहरूसँग चानसु नेतृत्वको भ्रमण टोलीको सुरक्षाबारे चासो राखेका थिए। जवाफमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा व्यवस्था चुस्तदुस्त बनाएको गृहमन्त्री खाडलाई ब्रिफिङ गरेका थिए। 

भ्रमणको समयमा तिब्बती शरणार्थीहरूले विरोधका कार्यक्रम गर्न सक्ने भन्दै गृहमन्त्री खाडले निगरानी बढाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको स्रोतले बताएको छ।  

विदेशी उच्च पदस्थ अधिकारीहरू आउँदा आ-आफ्नो जिम्मेवारी अनुसारको सुरक्षा व्यवस्थामा कुनै कमि हुन नदिन समेत उनले निर्देशन दिएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चानसु नेपाल आउन लागेका हुन्। 

योसँगै बैठकले तीन विषयमा छलफल गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढीपहिरोमा परी घाइते भएका र विस्थापितको उद्धार, राहत र पुनःस्थापना छिटै गरिने निर्णय गरेको छ। 

विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पुर्‍याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि छिटोभन्दा छिटो पुर्‍याउने निर्णय भएको प्रवक्ता पोखरेलले बताए। 

बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको छ। त्यही सुरक्षा योजनाको आधारमा जिल्ला जिल्लामा पनि थप योजना बनाउन सक्ने पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here