चितवनमा २२ करोड लगानीमा उद्योग स्थापना

जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट लगायतका आधा दर्जन निर्माणसँग सम्वन्धित उद्योग रहेको यो समूहले दरबार फूड्स उद्योग स्थापना

काठमाडौं। निर्माणजन्य उद्योगमा लगानी गरिरहेको चितवनको मनकामना समूह फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)मा समेत हात हालेको छ।

frontline

जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट लगायतका आधा दर्जन निर्माणसँग सम्वन्धित उद्योग रहेको यो समूहले दरबार फूड्स उद्योग स्थापना गरेको छ। भरतपुर महानगरपालिका-४ लक्ष्मीपुरमा ९ कठ्ठा जग्गामा २२ करोड लगानीमा उद्योग स्थापना गरिएको समूहका अध्यक्ष लक्ष्मण अर्यालले बताए। यो उद्योगबाट अहिले मसला उत्पादन सुरु भएको छ। उनका अनुसार अहिले १८ थरी मसला उत्पादन गरिरहेको छ।

‘हामीले एफएमसीजीमा एग्रेसिभ लगानी गर्ने गरि उद्योग स्थापना गरेका छौं। अहिले दरबार ब्राण्डमा मसला उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘केही दिनभित्रै दालमोठ, भुजिया र नमकिन उत्पादन सुरु हुनेछ।’ उद्योगबाट कर्नफ्लेक्स, मुस्ली लगायत पनि प्याकेजिङ गरेर बिक्री गर्ने उनले बताए। केही वर्षभित्रै कुरकुरे, पोट्याटो चिप्स लगायत पनि उत्पादन गर्ने अर्यालले बताए। ‘हामीले दीर्घकालिन लक्ष्य बनाएर यो क्षेत्रमा हात हालेका छौं। उद्योगको म्यानेजमेन्ट टीम समेत अनुभवी छ,’ उनले भने, ‘नेपालका राम्रा कम्पनीका काम गरेका दक्ष जनशक्तिलाई हामीले आफ्नो उद्योगमा ल्याएका छौं।’

अत्याधुनिक प्लान्ट ल्याएर खाद्य उद्योगमा हात हालेको बताउँदै मसलाले विस्तारै बजार लिन सुरु गरेको अर्यालले जानकारी दिए। ‘हामीले जर्मन प्रविधिको मेसिनरी मुम्बईबाट ल्याएका हौ। अरु उत्पादनका लागि पनि उच्च गुणस्तरको मेसिनरी ल्याउनेछौं,’ अर्यालले भने, ‘खाद्य उद्योग ज्यादैनै संवेदनशील हुने भएकाले यसमा प्रयोग हुने वस्तु समेत उच्च गुणस्तरको प्रयोग गर्नेछौ।’

‘प्रतिस्पर्धा गर्न आएका हौं’

उनले यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनीको बोलवाला रहेपनि प्रतिस्पर्धामा खरो उत्रिने जिकिर गर्छन्।

‘निश्चय पनि यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय स्तरमा समेत तीब्र प्रतिस्पर्धा छ। हामी पनि राम्रै प्रतिस्पर्धा गर्ने गरि यो क्षेत्रमा आएका छौं,’ उनले भने, ‘त्यही भएर हामीले मेसिनरी र प्याकेजिङ मेटेरियल समेत उच्च गुणस्तरको प्रयोग गरेका छौं। उत्पादनमा प्रयोग हुने खाद्यान्न समेत उच्च गुणस्तरकै हुनेछ।’

उनले स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने सामाग्री आफ्ना उत्पादनमा प्रयोग नगर्ने समेत दाबी गरे। ‘स्वादकै लागि भनेर स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने केमिकलहरु प्रयोग गर्दैनौं,’ अर्यालले भने, ‘खानयोग्य भएपनि आकर्षक देखाउन रंगहरुको प्रयोग कम गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here