चिकित्सा शिक्षा आयोगका १३ कर्मचारी एक महिनादेखि जिम्मेवारीविहीन

२० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगका १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखिएको छ । उपसचिवसहित विभिन्न शाखाका ती कर्मचारीलाई आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो । आयोगका उपसचिव सीताराम कोइरालासहितका कर्मचारी एक महिनादेखि कार्यालय जाने र हाजिर गरेर दिनभर खाली बस्ने गरेका छन् ।

शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य–सचिवलाई सहयोग गरेको भन्दै ती कर्मचारीहरूलाई जिम्मेवारीविहीन बनाइएको हो । उपाध्यक्ष प्राडा गिरीको निर्देशनमा ती कर्मचारीलाई काम गर्न नदिई जगेडामा राखिँदा आयोगको काम कारबाही प्रभावित भएको छ । 

frontline

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २० भदौमा शिव कुमार सापकोटालाई सदस्य–सचिवको रूपमा आयोगमा सरूवा गरेको थियो । पुराना सदस्य–सचिव डा. भोजराज काफ्लेको सरूवा गर्दै सापकोटालाई पठाउने मन्त्रीस्तरीय निर्णय भएको थियो । 

तर, उपाध्यक्ष गिरीले उनलाई हाजिर हुन दिएनन् । उपाध्यक्ष गिरी र सदस्य सचिव काफ्लेको अवरोधकाबीच आयोगका कर्मचारीहरूले सापकोटाको हाजिरी गराएका थिए । सापकोटालाई ज–जसले हाजिर गराउन सहयोग गरेका थिए, तिनै कर्मचारीले अहिले जिम्मेवारीविहीन भएका हुन् ।

उनले ती कर्मचारीको काज फिर्ता पठाउन भन्दै सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखेका थिए । तर, कर्मचारीहरूले भने आफूहरूलाई जुन मन्त्रालयले सरूवा गरेको हो, त्यही मन्त्रालयमार्फत् मात्र जाने बताउँदै आएका छन् ।

शिक्षा मन्त्रालयले पठाएका ती कर्मचारीहरू सामान्य प्रशासनले फिर्ता बोलाउन नसक्ने बताउँदै आएका छन् । १३ जनामध्ये ३ जना सामान्य प्रशासन मन्त्रालयमा हाजिर गर्दै आएका छन् । बाँकी १० जना आयोगमा हाजिर त गर्छन् तर दिनभर जिम्मेवारीविहीन अवस्थामा बस्ने गरेका छन् । 

नयाँ सदस्य–सचिवलाई स्वागत गर्दै हाजिर गर्ने कर्मचारीहरूलाई मात्र जगेडामा राखिएको उपसचिव कोइरालाले बताए । ‘शिवकुमार सापकोटा सदस्यसचिव भएर यहाँ आउनुभएको थियो । सरकारले खटाएर पठाएपछि त हामीले हाजिर गराउनै पर्‍यो । १० जना कर्मचारी ज–जसले हाजिर गराएका थिए, ती कर्मचारीलाई कारवाही गर्ने भनेर अहिले काम गर्न नदिएको हो,’ उनले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २० गते शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक रहेका शिव कुमार सापकोटालाई आयोगको सदस्य–सचिवको रूपमा सरूवा गर्ने निर्णय गर्‍यो । भदौ २१ देखि निर्वाचन आचारसंहिता लाग्ने भएकाले मन्त्रालयले २० गते नै उनको सरूवा गरेको थियो ।

तर, सरुवा भएर आयोगमा उनले काम गर्न खोज्दा आयोगका उपाध्यक्ष गिरी सहितका पदाधिकारीको अवरोधले सरुवा गरेको एक महिना वितिसक्दा पनि सापकोटाले जिम्मेवारी सम्हाल्न पाएनन् । त्यहाँ बहाल रहेका सदस्य–सचिव डा. काफ्लेको प्रदेश नम्बर १ को भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको थियो ।

काम गर्न आयोग पुगेका सापकोटामाथि प्रहरी लगाएर काम गर्नबाट रोक लगाइएको थियो । त्यसपछि कर्मचारीहरूले जवरजस्ती हाजिर गराएका थिए । आफ्नो अवरोधकाबीच हाजिर गराएको भन्दै उपाध्यक्ष गिरीले त्यसैको प्रतिशोध साध्न कर्मचारीहरूलाई जगेडामा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here