चाम्लिङ भाषा पढाउँदै दिक्तेल

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन गर्ने तयारी गरिएको छ । वडा शिक्षा समिति एवं वडा कार्यालयको पहलमा लफ्याङका एउटा माध्यमिक विद्यालय र चारवटा आधारभूत विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन गर्ने तयारी गरिएको हो ।

चाम्लिङ राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रूपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका संयोजक एवं वडा अध्यक्ष निर्मल राईले बताए ।

frontline

चालू शैक्षिक सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठनपाठन गरिनेछ । आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा चाम्लिङ भाषामा पठनपाठन हुने वडा कार्यालयले जनाएको छ ।

किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्यपुस्तकलाई नै पठनपाठनमा उपयोग गर्ने राईले बताए । कोभिड( १९ का कारण हालसम्म पठनपाठन बन्द छ । विद्यालय खुलेसँगै चाम्लिङ भाषामा पनि अध्ययन सुरु हुने जनाइएको छ ।

सम्बन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकबाटै उक्त भाषाको अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको अध्यक्ष राईले बताए ।

चाम्लिङ राईको बाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठनपाठन सञ्चालन हुँदै आएको छ ।

सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माविका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राई भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्ष दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here