घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

सान्केतिक तस्बिर

२ भदौ, विराटनगर  । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

frontline

उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो। 

घरमा पेन्टिङ(रंग लगाउने)को काम गर्दै आएका श्रेष्ठ ३ दिनअघिदेखि गिरीको घरमा बस्दै आएका हुन्।

प्रहरीका अनुसार उनी प्रष्टसँग सुन्न र बोल्न सक्दैन थिए। गिरीको घरमा बसेर उनले बनाएको नयाँ घरमा पेन्टिङ गर्दै आएका श्रेष्ठको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

‘घरमा सुतिरहेका बेला राति अचानक आगलागी भएछ,’ डीएसपी श्रेष्ठले भने, ‘बाहिर निस्कन नसक्दा घरभित्रै जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठान धरान लगिएको छ। 

आगोले गिरीको पुरानो घर पूर्ण रूपमा जलेर ध्वस्त भएको। घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद लगायत घरयासी सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहीबार बिहानका राति २ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

विराटनगर, इटहरी, सुन्दरहरैँचा र बेलबारीबाट चारवटा दमकल आगो नियन्त्रणका लागि पुगेका थिए। 

आगोले घरसहित सबै सामान जलेर ध्वस्त भए पनि घर परिषरमै रहेको काठमिलमा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीमा २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

यद्यपि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको डीएसपी श्रेष्ठले बताए। उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here