गोरखामा अवस्थित दुईसय वर्ष पुरानो पुङ्जे गुम्बा जलेर नष्ट

सान्केतिक तस्बिर

११ माघ, गोरखा । उत्तरी गोरखाको हिनाङमा अवस्थित दुईसय वर्ष पुरानो पुङ्जे गुम्बा जलेर नष्ट भएको छ। मंगलबार दिउँसो तीनबजेदेखि राति १० बजेसम्म सात घण्टासम्म आगलागी भएको चुमनुब्री २ स्थित हिनाङ पुङ्जे गुम्बा पूर्ण रुपमा नष्ट भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

विद्युत सर्ट भएर आगालागी भएको हुन प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ। प्राचीन सम्पदा ध्वस्त भएकाले क्षतिको एकीन गर्न नसकिने उनले बताए। 

frontline

‘यो गुम्बा नुब्री क्षेत्रकै प्राचीन मध्यको एक गुम्बा हो। यसको क्षतिलाई रुपैयाँ पैसामा दाँज्ने कुरै भएन’, उनले भने, ‘यो गुम्बाको भवन, फर्निचर मात्र क्षति भएको होइन, यहाँका बासिन्दाको आस्थाको धरोहर गुमाउनु पर्दा अपार क्षति भएको छ।’ यसको पुनर्निर्माणका लागि पालिकाको तर्फबाट केन्द्रमा पहल गर्ने उनले बताए।

अधिकांश सामान जलेको घटनास्थल पुगेर फर्किएका शिवहरि तिमिल्सिनाले बताए। ‘ढुंगा र माटो बाहेक त्यहाँ जल्न मिल्नेजति सबै जलेको छ’, उनले भने, ‘मान्छेहरु रोइर बसिरहेका छन् ।’ गुम्बाभित्र रहेका अमूल्य धर्मग्रन्थ, मूर्ति, धार्मिक वाद्यवादन तथा महत्ववपूर्ण लिखत लगायतका सामान जलेर नष्ट भएको तिमिल्सिनाले बताए।

आसपासमा रहेका ल्हो, ल्ही, र स्यो बस्तीबाट गएका बासिन्दाले राति १० बजेतिर आगो निभाएका गाउँपालिकाका अध्यक्ष लामाले बताए। लगातारको प्रयासपछि आगो निभाउन सफल भए पनि आगो निभाइसक्दा सबै क्षति भइसकेको उनले बताए ।

यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक मानिन्छ । माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु यो गुम्बाको आसपासमा आवासीय रुपमा बस्छन् । अरु धेरै भिक्षु पनि त्यहाँ बस्छन् ।  समुद्री सतहबाट ३३०० मिटर उचाइमा रहेको हिनाङ पुग्न गोरखा सदरमुकामबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here