खोटाङ डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा

फाइल तस्बिर

१८ असार, खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो ।

frontline

उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए ।

कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए ।

‘पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्’, उनले भने, ‘जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ ।’

पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् ।

चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here