खैरो हेरोइनसहित आमा–छोरा पक्राउ

५ मंसिर, दाङ । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम खैरो हेरोइनसहित आमा–छोरालाई पक्राउ गरेको छ।

शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया  ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम खैरो हेरोइनसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो।

frontline

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले खैरो हेरोइन बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो।

सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन्। प्रहरीका अनुसार आमा–छोरा नै खैरो हेरोइन कारोबारी हुन्। 

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए। तुलसीपुरमै ठूलो परिमाणमा खैरो हेरोइन बरामद गरिएको हो।

उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो।

खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here