क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने
४ माघ, काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’
सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।
साथै, प्राप्त सहयाेग रकम दुरूपयाेग नभएकाे पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेकाे छ ।
साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।
‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाएको हो ।
सोभन्दा पहिले फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्