क्रान्तिकारीको विवाद खुमलटार पुग्यो, निर्वाचन प्रक्रिया स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै भन्नुभएको थियो, ‘पार्टीले कुनै पनि हस्तक्षेप गर्दैन, यही हलबाट नेतृत्व टुंगो लगाउनुस् ।’

तर, केही दिनयता बन्दसत्रमा चलिरहेको लफडा हेर्दा प्रचण्डले भनेजस्तो विद्यार्थी नेताहरुले आफैँ नेतृत्व टुंगो लगाउने देखिंदैन । 

frontline

प्रतिनिधि प्रवेश शुल्क दुई हजार तोकिएकोमा क्रान्तिकारीको एउटा समूह नाराबाजीमा उत्रियो । उमेर हदसम्बन्धी विवादले बन्द सत्रमा दिनहुँ किचलो भैरहेको छ । अस्ति कुर्सी हानाहानसमेत भएको थियो ।  

विद्यार्थीहरु आपसी लडाईमा उत्रिएपछि अध्यक्ष प्रचण्डले इञ्चार्ज हिमाल शर्मासहितको टोलीलाई खुमलटार बोलाएर सोध्नुभयो, ‘किन यस्तो लफडा गरेको ?’ त्यसक्रममा उहाँले स-साना कुरा विवाद नगर्न सुझाउँदै बरु आ-आफ्नो पालिकामा गएर पार्टी निर्माणमा लाग्न र ०८४ को चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो। 

उमेर हदसम्बन्धी विवाद मतदानबाट टुंग्याउन पनि प्रचण्डले सल्लाह दिनुभएको थियो । तर, पार्टी अध्यक्षले सुझाव दिएको केही घण्टामै महाधिवेशनस्थलमा खुकुरी देखाएर कुर्सी फालाफालको अवस्था आयो । क्रान्तिकारीका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार  तुकमान महरा नेतृत्वको समूहले उमेर हद नमान्ने भन्दै हुलदंगा गरेको हो । 

रोल्पा घर भएका उनी अहिले ३४ वर्ष पुगिसकेका छन् । विकल्पमा राखिएका उमेर हद (२८ वर्ष, ३० वर्ष, ३२ वर्ष) कायम भए तुकमान अध्यक्ष लड्न पाउँदैनन् । सोही कारण उनले उमेर हदको विरोध गरेको क्रान्तिकारीका एक पदाधिकारीले बताए । 

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिव जोखबहादुर महराका माइलो छोरा तुकमानलाई कतिपयले नेताहरुले ढाडस दिएको पनि देखिन्छ । तर, सोमबार उनले खुकुरी देखाएर आतंक मच्याएकोप्रति महाधिवेशन प्रतिनिधि भने आक्रोशित छन् । 

कीर्तिपुरको हलबाट उमेर हदसम्बन्धी विवाद टुंगिने सम्भावना कम्जोर बनेपछि पार्टीले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ । त्यसबारे निर्णय लिन आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आजका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here