कोरोनाबाट मृत्यु भएका परिवारलाई कटारी नपाले जनही २५ हजार सहयोग

काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्रति मृतक परिवार २५ हजार रुपँयाँ नगदसँगै होमआइसोलेसन किटसमेत उपलब्ध गराउने निर्णय गरेको हो । 

संक्रमणबाट ज्यान गुमाएका नगरवासीलाई सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराउन लागिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘एकै परिवारमा एकभन्दा बढि व्यक्तिको मृत्यु भएमा सहयोग रकम थप गर्नेछौं,’ मेयर श्रेष्ठले भने, ‘कोरोना पुष्टिसँगै वडाको सिफारिसको आधारमा रकम उपलब्ध गराउँछौं।’

frontline

त्यसैगरी संक्रमित परिवारलाई औषधि, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि नगरपालिकाले वितरण गर्ने तयारी गरेको उनले बताए ।कटारी नगरपालिकामा अहिलेसम्म कोरोनाबाट दुईजना पुरुष र १ जना महिला गरी तीनजनाको मृत्यु भइसकेको छ भने ५९ जना पुरुष र ४२ जना महिला गरी एक सय एक जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाले कोरोना संक्रमण जितिसकेका छन् । 

जिल्लामा हालसम्म २० जना पुरुष र १० जना महिला गरी ३० जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुँइटेलले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ४ सय ५२ जना पुरुष र ३ सय ६४ जना महिला गरी ८ सय १६ जना संक्रमित देखिएका छन् त्यसमध्ये १ सय १ जना पुरुष र ७६ जना महिला गरी १ सय ७७ जना कोरोना जितेर घर फर्किसकेका छन् । जिल्लामा हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ३ सय ९२ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here