कोरोना संक्रमण: रोगले भन्दा डरले धेरै ज्यान गुमाउने

काठमाडौं । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका पोखरा-१९ का पुरुषलाई गएको बुधबार बिहान साढे ५ बजेतिर परिवारका अन्य सदस्यले देखेनन्।

ज्वरो आएर जेठ ७ गते पोखराको फिस्टेल अस्पताल पुगेका उनलाई त्यही दिन स्वाब लिएर अस्पतालले पिसिआर परीक्षण गर्न पठाएको थियो।

frontline

भोलिपल्ट उनको रिपोर्ट पाजेटिभ आएपछि होम आइसोलेसनमा थिए।

घरको छुट्टै कोठामा उनलाई नदेखेपछि परिवारका अन्य सदस्यले खोजी गर्न थाले।

नजिकैको प्रहरी कार्यालयमा खबर गरे। प्रहरीसहितको टोली खोजतलासमा जाँदा नजिकैको भिरबाट हाम फालेको अवस्थामा उनको शव भेटियो।

उनी भिरबाट करिब ५० मिटर तल खसेका थिए। प्रहरीले उनको शव निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गर्न पठायो, बुधबार नै शव उनको परिवारलाई जिम्मा लगाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

कोरोना महामारीका कारण आमाबुबा गुमाएका एउटा परिवार अहिले पोखरा र मादी गाउँपालिका छुट्याउने काहुँखोला नजिकै समाज घरमा छन्।

कोरोना संक्रमित भएर समाज घरमा आइसोलेसन बस्न पुगेका श्रीमान, श्रीमती र उनीहरूको छोरा र छोरीलाई रेखदेख गर्न एक जना आफन्त पनि सँगै छन्।

परिवारै कोरोना संक्रमित भएकाले उनीहरूले आमाबुबाको काजकिरिया पनि गर्न पाएका छैनन्।

मादी गाउँपालिका-५ घर भएका उनीहरू लामो समयदेखि पोखरा- १३ मा भाडामा बस्दै आएका थिए।

उनीहरूलाई कोरोना सञ्चो भएपछि मात्रै बुबा आमाको काजकिरिया गर्ने मादी-५ का वडा अध्यक्ष रतन गुरूङले बताए।

उनीहरूका बुबालाई दुई वर्षयता मुटुसम्बन्धी रोग थियो। वैशाख अन्तिम साता कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित बिरामी परेपछि बुबाको पिसिआर परीक्षण गरे।

वैशाख २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आयो, त्यसपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन लगियो।

आइसोलेसनमा बुबाको कुरूवा बस्न आमा गएकी थिइन्।

कोरोनाको उपचार गर्दागर्दै बुबाको वैशाख ३० गते मृत्यु भयो। आफ्नै अगाडि श्रीमान् गुमाउँदाको पीडा श्रीमतीले थाम्न सकिनन्। त्यही रात उनी अस्पतालबाटै बेपत्ता भइन्।

श्रीमानको कुरूवा बस्न पुगेकी श्रीमती पनि कोरोना संक्रमित भइसकेकी थिइन्।

बुबाको मृत्यु भएपछि छोरा र अन्य आफन्त अस्पताल पुगे। अस्पतालमा आमा भेटेनन्, उल्टै हराएको जवाफ पाए।

बुबा गुमाउनुको पीडा त छँदैथियो, कोरोना संक्रमित आमा रातारात बेपत्ता हुनुको अर्को पीडा परिवार र छोराछोरीमा थपिएको थियो।

प्रहरीको सहायता लिएर परिवारले रातभर आमाको खोजी गरे। बिहान ४ बजेतिर रामघाटस्थित कंक्रिट पिलरमा झुन्डिएको अवस्थामा आमाको शव भेटियो।

उनी आफ्नै पटुकीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले बताए।

उनका श्रीमानको मृत्यु भएपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट नआउँदै उनी बेपत्ता भइसकेको प्रहरीले जनाएको छ।

एकै पटक भएका यी दुई घटनाले परिवारलाई विक्षिप्त बनायो।

‘दाइपछि भाउजु पनि बित्नुभएछ, छोरालाई सम्हाल्न सकेको छैन, चौपट छ मामा भनेर उहाँको देवरले फोन गर्नुभयो,’ वडाअध्यक्ष गुरूङले भने।

कोरोना संक्रमित दुवै जनाको शव नेपाली सेनाले व्यवस्थापन गर्‍यो। आइसोलेसनमा बसेका परिवार कोरोनामुक्त भएपछि मात्रै काजकिरिया गर्ने वडाअध्यक्ष गुरूङले बताए।

‘उनीहरूको पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै काजकिरिया हुन्छ,’ उनले भने, ‘कोरोना नभएको भए त अहिलेसम्म किरिया पनि सकिन्थ्यो, गाउँले सबै किरियापुत्रीलाई साथ दिन जान्थे।’

बागलुङको ढोरपाटन नगरपालिका-३ पुर्कोट देउरालीका एक महिलालाई घरमा श्वास फेर्न गाह्रो भयो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचार गर्न जेठ पहिलो साता नजिकैकै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द लगियो। 

बुर्तिबाङबाट धौलागिरी अस्पताल रिफर भइन्। अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो।

धौलागिरी अस्पतालमा आइसियु बेड अभाव हुँदा उनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरियो। उनलाई उपचार गराउन उनका श्रीमानले पोखरा ल्याएका थिए।

श्रीमतीको उपचार गर्न एक्लै बस्दा अत्यास लागेको उनले परिवारलाई फोनमार्फत् जानकारी गराएको ढोरपाटन-३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती मगर बताउँछन्।

त्यसपछि उनका दाजु र भिनाजु पोखरा आए। अस्पतालमा श्रीमतीको उपचार गर्न आएका ती युवा जेठ ६ गते रातिदेखि बेपत्ता भए।

आइसियुमा राखेर उपचार भइरहेकी उनकी श्रीमतीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदैछ।

उनको हेरचाह गर्न जेठाजु र भिनाजु बसेका छन्। श्रीमान बेपत्ता भएको सातादिन बित्दासमेत अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

वडा अध्यक्ष मगरले कास्की प्रहरीमार्फत् खोजतलास गरे पनि सम्पर्कमा नआएको बताए।

उनको मोबाइल फोन ट्रेसिङ गर्दा अस्पताल आसपासबाटै मोबाइल अफ भएको जानकारी प्रहरीले दिएको वडा अध्यक्ष मगरले बताए।

बेपत्ता भएका ती युवा बुटवलमा काम गर्थे। उनले काम गर्ने ठाउँमै एक जना ड्राइभर कोरोना संक्रमित भएर मृत्यु भएको थियो।

त्यसपछि नै उनी ढोरपाटन फर्केका थिए। सँगै काम गरेको साथी गुमाउनुको पीडा बोकेर फर्केका उनी बुटवलबाट फर्कँदा सामान्य बिरामी थिए।

उनले कोरोना परिक्षण गरेनन्। श्रीमान आएकै केही दिनपछि श्रीमतीलाई कोरोनाले च्यापेको वडा अध्यक्ष मगर बताउँछन्।

कोरोनाभाइरसको तनावले मान्छेको ज्यान जाने घटना यतिमात्रै छैन। गत  वर्ष असोज ६ गते पिसिआर परीक्षण गर्न खोज्दा भागेको तनहुँका युवा अहिलेसम्म भेटिएको छैन।

व्यास- ३ घर भएका ती युवा ज्वरो आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न गएका थिए।

अस्पतालका चिकित्सकले कोरोना भाइरस संक्रमणको आशंकामा उनको पिसिआर परीक्षण गर्न लगाए।

स्वाब निकाल्ने बेला ती युवा अस्पतालबाट भागे। प्रहरीका अनुसार ती युवा सेती नदीमा गएर हाम फाले।

नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर खोजतलास गर्दा अहिलेसम्म पनि उनलाई भेटाउन नसकेको डिएसपी हमालले बताए।

‘प्रत्यक्षदर्शीले सेतीमा हाम फालेको बताएका छन्, हामीले धेरै प्रयास गर्दा पनि उहाँलाई भेटाउन सकेका छैनौं,’ हमालले भने।

परिवारमा कोरोना संक्रमण भएपछि त्यसले पार्ने आर्थिक, सामाजिक र पारिवारिक संकटको सामना गर्न नसक्दा मान्छेहरू यस्तो निर्णयमा पुग्ने गरेको उनले बताए।

कोरोनाको उपचार गर्न अस्पताल पुगेका बिरामी ४/५ दिनसम्म स्वभाविक रूपमै आत्तिने डाक्टर कविता पाठक बताउँछिन्।

पोखरास्थित संक्रामक तथा सरूवा रोग अस्पतालमा संक्रमितको उपचार गरिरहेकी डाक्टर पाठकले बाहिर निस्केर हिँड्न नपाउने, अर्को बेडको बिरामीको अवस्था र कोरोनाबारे फैलिएको भ्रमका कारण धेरै बिरामी आत्तिने र अनौठो व्यवहार देखाउने गरेको उनले बताइन्।

यस्तै, अस्पतालको आइसोलेसनमा कोही संक्रमितको मृत्यु हुँदा अन्य संक्रमित बिरामीको मनोबल घट्ने र आत्तिने गरेको बताइन्।

अस्पतालले संक्रमितको उपचार गर्न डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली २४ घन्टा नै आइसोलेसनमा खटाएको छ ।

डाक्टर पाठकका अनुसार, आत्तिएकै कारण अक्सिजन लेभल राम्रै भएका संक्रमितले पनि श्वास फेर्न गाह्रो भयो, छाती दु:खेजस्तो भयो भनेर छटपटिने गर्छन्।

केही बिरामीले घोप्टो पारेर सुताउन खोज्दा पुरै ज्यान छाडिदिने, जे गरे पनि तिमीहरू गर भन्ने, अक्सिजन नलगाइदिने जस्ता अनौठो व्यवहार देखाउँछन्।

अस्पताल भर्ना भएपछि कतिपय बिरामी बेचैनीका कारण निदाउन नसक्ने, डाक्टरसहितको स्वास्थ्यकर्मीको सल्लाह नमान्ने पनि गर्ने गरेको उनको अनुभव छ।

संक्रमितलाई उपचारका साथै काउन्सिलिङ गरेर राख्दा भने बिरामीमा डाक्टर र स्वास्थ्यकर्मीप्रतिको भरोसा बढ्दै गएको उनले बताइन्।

‘डाक्टर जतिबेला पनि मेरै आडमा होस्, यहाँबाट नजाओस् जस्तो गर्नुहुन्छ, नत्र फोन गरेको गर्‍यै पनि गर्नुहुन्छ,’ संक्रमितको व्यवहार बताउँदै उनले भनिन्।

केही बिरामी भने आत्तिएर आफूलाई छुट्टै सेवा चाहिनेजस्तो व्यवहार देखाउने र अन्य अस्पतालमा जान रिफर माग्ने गरेको उनले बताइन्।

यसरी रिफर भएर गएका बिरामीले अन्य अस्पतालको आइसोलेसन पनि उस्तै देखेपछि मात्रै कोरोनाको उपचार यसरी नै रहेछ भनेर आइसोलेसनप्रति विश्वास गर्ने उनको भनाइ छ।

कोरोनाको उपचारमा खटिएकी डाक्टर पाठकसहितको टिमले आत्तिने बिरामीलाई गम्भीर अवस्थामा पुगेर पनि निको हुँदै गएका बिरामी देखाएर सम्झाउने गरेका छन्।

अस्पतालले संक्रमितलाई गाह्रो हुँदा एक जना आफन्तलाई आइसोलेसनभित्र बस्न दिएको छ।

यसरी कुरूवा राख्दा बिरामीलाई साथी हुने र हेरचाह पनि बढ्ने डाक्टर पाठकले बताइन्। एउटै घरका संक्रमित छन् र उस्तै अवस्था छ भने उनीहरूलाई नजिकै राखिदिएको छ।

उनीहरूबीच कुराकानी गर्न सजिलो होस् भनेर यसो गरेको उनले बताइन्।

केही बिरामी भने एकदम सहयोगी पाएको डा. पाठकले बताइन्।

‘कोही त एकदम कोअपरेटिभ हुनुहुन्छ, अक्सिजन छुटाउन हुन्न भनेपछि खाना खाइञ्जेलसम्म पनि अक्सिजन मास्क लगाउनुहुन्छ,’ उनले भनिन्, ‘यस्ता बिरामी छिटो निको भएका छन्।’

नेपाल मनोचिकित्सक संघका केन्द्रीय महासचिव डाक्टर राजन शर्मा कोरोना महामारीले एन्जाइटी (आत्तिने र डराउने रोग) फैलिएको बताए।

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कन्सल्टेन्ट मनोचिकित्सक डाक्टर शर्माले आफूकहाँ उपचार गराउन आउने बिरामीमा एन्जाइटीको समस्या बढेको बताए।

कोरोनाका कारण फैलिएको डरले मानिस रातभरि सुत्न नसक्ने अवस्था रहेको उनले बताए।

‘संक्रमित र तिनका परिवार र कतिपय अरू मानिस पनि सुत्न सक्दैनन्, भोलिपल्ट उसको शरीरको साइकल नै बिग्रन्छ, त्यसपछि उसलाई टाउको दुख्ने, खाना नरूच्नेजस्ता शारिरीक समस्या उत्पन्न हुन्छ,’ उनले भने, ‘कोरोना महामारीमा फैलिएको मानसिक समस्या शारीरिक पीडामा परिणत भएको छ।’

कोरोनाको त्रास भयानक अवस्थामा पुगेको उनले बताए। यही कारण मानिसको ज्यानै जाने गरी घटना हुन थालेको भन्दै उनले कोरोनालाई हाउँगुजीका रूपमा प्रस्तुत गर्न नहुने बताए।

‘कोरोना लागेपछि अस्पतालमा बेड नपाउने, बेड पाए अक्सिजन नपाउनेलगायत घटनाले पनि यस्तो त्रास फैलाउन मद्दत गरेको उनको भनाइ छ।

कोरोना लागेका करिब १० प्रतिशत मानिसमात्रै अस्पताल भर्ना भएको र संक्रमितमध्ये २ प्रतिशत मानिसको मात्रै ज्यान गएको भन्दै उनले आम मानिसलाई सकारात्मक सन्देश दिन ढिलाइ भएको  बताए।

यस्तै, कोरोना लागेपछि परिवारकै मान्छे डराउने, निको भइसकेपछि पनि उसको नजिक नजाने र दुर्व्यवहार गर्ने घटनाले संक्रमितमा झनै तनाव बढेको बताए। 

यो अवस्थालाई चिर्न सरकार र अन्य निकायले चासो नदिएकोमा उनले चिन्ता व्यक्त गरे।

‘छिनछिनमा हात धुने, मास्क लगाउने, भिडभाडमा नजाने हो भने कोरोना सर्दैन, सरिहालेछ भने पनि डराउन आवश्यक छैन, धेरै मानिसले कोरोना जितेका छन,’ उनले भने, ‘यो कुरामा मानिसले ध्यान नै दिएनन्।

सरोकारवाला निकायले पनि सम्झाएका छैनन्। नकारात्मक कुरा मात्रै सोंच्दा एन्जाइटी भयो।’

आइसियुमा कोरोना संक्रमितको उपचार गरिरहेका डाक्टरसहितका स्वास्थ्यकर्मीमा कम संक्रमण भएको भन्दै उनले सुरक्षा कवज अपनाउँदा संक्रमितकै बीचमा जाँदा पनि केही हुँदैन रहेछ भनेर आम मानिसलाई भन्नुपर्ने बेला आएको बताए।

होम आइसोलेसनमा बसेका व्यक्तिले कोरोनाभाइरस र यसबाट जोगिने उपाय थाहा पाए पुग्ने भन्दै दैनिक मृत्यु भएका, अक्सिजन अभाव, अस्पतालमा बेड नपाएका जस्ता समाचार पढ्न आवश्यक नरहेको उनको टिप्पणी छ।

‘ज्यानै फाल्ने गरी मानिस डराएका छन्, यसरी डराउन जरूरी छैन।

महामारीमा डर फैलिनु स्वभाविक हो। तर यसबाट जोगिने र निको हुने पनि त उपाय छन् नि। त्यतातिर ध्यान दिनुपर्‍यो,’ उनले भने।

मानसिक रूपमा तन्दुरूस्त नभई अरू रोगसँग लड्न नसकिने भन्दै उनले मानिसले लिएको ज्यानै जाने तनाव झन् खतरनाक रहेको बताए।

कोरोना महामारी जस्तो प्रतिकुल समयमा मानिस आत्तिनु स्वभाविक भएको मनोसामाजिक विमर्शकर्ता जमुना शर्मा बताउँछिन्।

गहिरो चोट परेका बेला मानिसले अस्वभाविक प्रतिक्रिया जनाउने भन्दै उनले यस्तो बेला मन आत्तिन्छ भनेर स्वीकार गर्नुपर्ने बताइन्।

‘कोरोनाको डरका कारण अत्याधिक तनाव उत्पन्न भएको छ,’ उनले भनिन्, ‘यस्तो बेला आत्तिएर, डराएर र समस्याबाट भागेर समाधान हुँदैन।’

कोरोनाकै कारण परिवार र समाजले गर्ने भेदभाव, लाञ्छना, उपचारमा लाग्ने खर्चलगायतका कारण पनि मानिस हतोत्साही भएको उनले बताइन्।

यस्तो बेला संक्रमित र तिनका परिवारसँग भावनात्मक रूपमा नजिक हुनुपर्ने उनले बताइन्।

‘कोरोनाले परिवार र समाजलाई नै टाढा बनाइदियो, यस्तो बेला भावनात्मक रूपमा झनै नजिक हुनुपर्थ्यो,’ उनले भनिन्, ‘संक्रमित र तिनका परिवारलाई सान्त्वाना दिने काम भएनन्।’

आमसञ्चार माध्यमबाट पनि कोरोनासम्बन्धी समाचार नकारात्मक धेरै भएको भन्दै कतिपय हल्लाहरूले पनि मानिसलाई विक्षिप्त पारेको उनको भनाइ छ।

कोरोना संक्रमित र तिनका परिवारमात्रै नभई कोरोना नै नलागेका व्यक्तिसमेत अहिले मानसिक आतंकबाट गुज्रिरहेको उनले बताइन्।

‘यस्तो मानसिक आतंकबाट ग्रसित छौं। जीवन र मृत्युको लागि संघर्ष गरिराखेका छौं।

संक्रमितको नजिक उभिदिने मान्छे छैन। परिवारको मान्छे देख्दा उसलाई आशा पलाउन सक्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ,’ उनले भनिन्।

महामारीसँग भागेर नभई स्वास्थ्यकर्मीको सल्लाहअनुसार डटेर सामना गर्नुपर्छ भन्ने भावना फैलाउनु पर्ने उनले बताइन्।

उनले भनिन्, ‘सुरक्षा र सावधानी अपनाउँदै बिरामी र उनका परिवारजनलाई भेटेर सान्त्वाना र भावनात्मक सहयोग प्रदान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here