कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना
काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो ।
अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।
खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।
निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।
अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे ।
अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी, लियोन्ड्रे परेडेस र लाउटारो मार्टिनेजले गोल गरे । रोड्रिगो डे पउलको प्रहार भन्दा पोष्ट माथिबाट बाहिरियो ।
अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो । दुई वर्षअघि ब्राजिलमै भएको प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । यस पटक ब्राजिल विरुद्ध बदला लिँदै उपाधि जित्ने अवसर अर्जेन्टिनालाई छ ।
ब्राजिल भने पहिलो सेमिफाइनलमा पेरुलाई हराएर फाइनल पुगेको हो ।
फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् ।
सन् २००७ मा ब्राजिलले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो ।
सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्