कोटेश्वरमा दुर्घटना गराई भागेका टिपर चालक पक्राउ
५ माघ, काठमाडौं । गएराति काठमाडौंको कोटेश्वरमा गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएपछि टिपर चालक भागे । दुर्घटना गराई भाग्ने चालक र टिपरको नम्बर समेत खुलेको थिएन ।
तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो ।
तर, काठमाडौं प्रहरीले दुर्घटना गराई भाग्ने चालक र नम्बर नखुलेको टिपरलाई नियन्त्रणमा लिन सफल भएको छ । रमन कन्स्ट्रक्सनको स्वामित्वमा रहेको टिपर र चालकलाई बल्खुस्थित सुन्दरीघाटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
तनहुँको भानु नगरपालिका–१० घर भएका ५२ वर्षीय सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ना.१ क ४५०२ नम्बरको टिपर र चालक श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एवं एसपी दिनेश मैनालीले बताए ।
मृतक भक्तपुरको सल्लाघारीमा बस्थे । उनको निधारमा चोट लागेको छ। त्यस्तै मोटरसाइकलमा सवार काभ्रे घर भएका ३१ वर्षीय देव लामा गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पक्राउ परेका श्रेष्ठमाथि महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस्