कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित

२७ साउन, कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् ।

बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् ।

frontline

चार दशकदेखि यो गाउँमा बस्दै आएका उनीहरूले बस्तीनै बगाउने खतरा बढ्दै गएपछि सुरक्षित बसोबासको माग गर्दे आए पनि कतैबाट सुनुवाई हुन सकेको छैन् । कैलारी गाउँपालिकास्थित मोहना पारीको शिवरत्नपुर गाउँँमा झण्डै ८० घर परिवारको बसोबास छ ।

भारतसँग सीमा जोडिएको यो गाउँ वर्षौँदेखि नदी कटानको जोखिममा छ । बर्खा सुरू हुँदै गर्दा यो गाउँका झण्डै १५ घर परिवार विस्थापित भई सकेका छन् । नदीले बेलाबेला धार परिवर्तन गरेर गाउँमै पस्न थालेपछि उनीहरू विस्थापित हुन बाध्य भएका हुन् ।

स–साना योजना ल्याउँदै नदीमा तटबन्धन गरेपनि तटबन्धन समेत नदिले बगाएको छ । तटबन्धनमा मात्रै सरकारको झण्डै ५० लाख रुपैयाँ लगानी खेर गइसकेको छ ।

सरकारी सेवादेखि दैनिक उपभोग्य सामाग्रीका लागि समेत मोहना नदिमा डुगांको भर पर्नुपर्ने यस गाउँका नागरिक अब नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

गाउँनै जोखिममा परेपछि कैलारी गाउँपालिकाले संघीय सरकारसँग व्यवस्थापनका लागि पटक-पटक माग गरेपनि सुनुवाई भएको छैन् ।

विस्थापित १५ घर परिवारलाई बासस्थानका लागि खुला चौरमा त्रिपाल उपलब्ध गराउनुका साथै पानीको व्यवस्था गाउँपालिकाले गरेको छ ।

अब यो गाउँलाई सुरक्षित स्थानतर्फ सार्ने वा तटबन्धबाट दीर्घकालीन समाधान गर्न प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने गाउँपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको टोलीले कटान क्षेत्रको अवलोकलन गरेको छ ।

समितिले गाउँ जोखिममा रहेको निष्कर्ष निकाल्दै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई तत्काल राहत उपलब्ध गराउन र गाउँको दीर्घकालीन समाधान खोज्न निर्देशन दिएको छ ।

स्वास्थ्य उपचारदेखि विद्यालय जान र अन्य कामका लागि शिवरत्नपुर गाउँँका नागरिकले अझै पनि डुगांको भर पर्नु परेको छ ।

यो बाध्यता अन्त्य गर्न प्रदेश सरकारले नदीमा झोलुङ्गे पुल निर्माण गर्ने जनाए पनि कहिले सम्म पुल बन्ने टुंगो लाग्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here