कुलप्रसाद केसीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी, शपथ आजै
प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी
बिहीबार, काठमाण्डु । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
लुम्बिनी प्रदेशमा केसीले चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
बिहीबार बिहान नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेसका सचेतक विरेन्द्र कुमार कनौडियाले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी रहेको छ ।
गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।
८० सदस्य रहेको लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा कांग्रेस १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादी ३ र जनमोर्चा १ गरी ४२ सदस्य छन् । प्रतिपक्षी दल एमालेसँग ३७ जना सांसद रहेका छन् ।
सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही पनि गठबन्धनमा मिसिएका छन् ।
हृदयश त्रिपाठी समूहका शाहीले केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका हुन् । योसँगै गठबन्धनसँग सांसदको संख्या ४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्