कुटपिट अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ
काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।
पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।
झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।
त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो ।
पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।
पीडित पक्षकाले पनि कुटे संग्रौलालाई
प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलालाई पनि पीडितको तर्फबाट बताउने सुजन खत्री र सुमन चित्रकारले कुटपिट गरेका छन् ।
उनीहरुले आफूलाई युवा संघको कार्यकर्ता बताएका छन् ।
पीडित खुश्बु पनि युवा संघकी नेतृ हुन् ।
काठमाडौं प्रहरीका अनुसार संग्रौलामाथि कुटपिट गर्नेलाई पनि पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्