कीर्तिपुर उपचुनावः दलहरुका लागि भारी बन्दै स्वतन्त्र उम्मेदवार

 आगामी मंसिर १६ गते हुने स्थानीयतहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जना उम्मेदवार मैदानमा छन् । 

देशभर ४४ पदका लागि उपनिर्वाचन हुन लागेको भए पनि संघीय राजधानी रहेको काठमाडौंको यो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ । विभिन्न दलका ९ जना र ११ स्वतन्त्र उम्मेदवार मैदानमा छन् । 

frontline

यसअघि कांग्रेसले जितेको यो ठाउँ हात पार्न सबै उम्मेदवार कस्सिएका छन् । गत निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता संख्या थियो । निर्वाचनमा ७९.२४ प्रतिशत अर्थात् २४ हजार ३२ मतदाताले मतदान गरेका थिए । तर अहिले हुन लागेको उपनिर्वाचनमा ७ सय ८४ मतदाता थपिएका छन् । 

गत निर्वाचनमा कीर्तिपुरमा १२ जनाले उम्मेदवारी दिए पनि २ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले भने दोब्बर संख्यामा उम्मेदवार छन् । कीर्तिपुरको विकासका लागि सबै उम्मेदवारहरुले आ–आफ्नै योजना मतदाताहरुसमक्ष प्रतिवद्धता जनाइरहेका छन् । 

दलका उम्मेदवारहरु सबैले आफैले चुनाव जित्ने दावी गरिरहेका छन् । अघिल्लो पटक जितेको कांग्रेसले यसपटक सहज जित निकाल्ने बताइरहेको छ भने एमाले र माओवादीले पनि पकड जमाउने दाबी गरिरहेका छन् । तर दलका उम्मेदवारहरुप्रति नागरिकको वितृष्णा बढ्दै गएकाले आफूहरुले जित्ने दाबी स्वतन्त्र उमेदवारहरुको छ । अझ केही स्वतन्त्र उम्मेदवारहरु मिलेर लड्ने समेत तयारीमा छन् । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा जस्तै स्वतन्त्र उम्मेदवारको माहोल बनिरहेको दाबी उनीहरुको छ । तर स्वतन्त्र उम्मेदवार संख्या नै बढी हुँदा धेरैतिर भोट बाँडिने सम्भावना रहन्छ । 

कीर्तिपुरमा राम्रो छवि बनाएका सामाजिक अभियन्ताहरुको प्रतिष्पर्धाका कारण राजनीतिक दलका उम्मेदवारहरुलाई पनि भारी पर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here