किसान आन्दोलनका नेता पूर्णबहादुर खत्रीको निधन

३ चैत्र, उदयपुर ।  किसान आन्दोलनका अगुवा तथा वामपन्थी नेता पूर्णबहादुर खत्री (खेताला)को निधन भएको छ। ८७ वर्षीय खत्रीको बुधबार राती ११:३० बजे आफ्नै घर कटारी नगरपालिका १० सोरुङ्गछविसेस्थित वरडाँडाँमा निधन भएको हो।

केहि दिनअघि जेठो छोराको सवारी दुर्घटनामा परी मृत्यु भएपछि उनी विछिप्त थिए। उमेर ढल्कँदै गए पनि शारीरिकरुपमा स्वस्थ र फुर्तिला थिए। भुमिगतकालमा एक पटक बिरामीले सताए पनि त्यस यता उनको स्वास्थ्यमा खासै समस्या नआएको परिवारले बताएको छ। 

frontline

स्वर्गीय खत्रीको निधनले किसान र कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको भन्दै बिहीबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले एक शोकवक्तव्य जारी गरेको छ।

पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘देश र समाजको परिवर्तनका खातिर लडेका नेता खत्रीको मृत्युले आफूहरुले एउटा अशल अभिभावक गुमाएको महशुस गरेका छौं।’

साथै विज्ञप्तिमा जनताको अधिकार स्थापित गर्न निरन्तर संर्घष गर्दै आएका खत्रीका सपना पूरा गर्न पार्टी प्रतिवद्ध रहेको जनाइएको छ।

कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउने अभियानमा होमिएका उनी पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नजिक थिए। 

जनयुद्धको बललाई सत्तामा साटेको भन्दै नेकपा माओबादीबाट अलग्गिएका उनी पछिल्लो समय शसक्त क्रान्तिको विगुल फुक्नु पर्ने भन्दै विप्लवको आन्लोलनमा सघाउ पुर्याउँदै आएका थिए।

यसविचमा विप्लव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनका जेष्ठ सदस्यलाई सम्मान, घर नभएकालाई घर बनाइदिने र पालनपोषणका लागि मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो। 

उक्त निर्णय कार्यान्वनको पहिलोचरणमा उदयपुरबाट खत्री पर्दछन्। आवासका लागि खत्रीलाई नेकपाले जन्मथलोमा नै आफ्ना नेता कार्यकता परिचालन गरी घर बनाउन सुरु गरेको थियो।

उर्वर जीवन कम्युनिष्ट आन्दोलनमा होमिने र बुढेसकालमा परिवारबाट टाढा हुने अवश्था नहोस् भन्ने हेतुले पार्टीले जेष्ठ कम्युनिष्टलाई सम्मान कार्यक्रमको सुरुवात गरेको जिल्ला इन्चार्ज विवेक कुमालले बताए।

उनी २०३३ साल माघ १६ गते नेपाल कम्युनिस्ट पार्टी उदयपुरको जिल्ला भेलाबाट पहिलो सेक्रेटरी थिए। त्यससपछि नेकपा (मसाल) उदयपुरको सेक्रेटरी, २०४८ कार्तिकमा भएको जिल्ला भेलाबाट नेकपा (एकता केन्द्र) उदयपुरको सेक्रेटरी, २०४८ सालमै संयुक्त जनमोर्चा नेपाल उदयपुरको जिल्ला अध्यक्ष थिए। 

२०५२ साल पुसमा भएको अखिल नेपाल किसान संघ (२००७) उदयपुरको जिल्ला पार्टी निर्णयबाट संयोजक र २०५४ को जिल्ला भेलाले अध्यक्ष, एकीकृत नेकपा (माओवादी) उदयपुरको जिल्ला सल्लाहकार समिति सदस्य थिए। 

२०३४ साल असारमा अखिल नेपाल किसान संघले देशव्यापी पर्चा छर्दै भकारीफोर आन्दोलन चलाएको समयमा खत्रीको नेतृत्वमा उदयपुरमा पर्चा छर्ने र आन्दोलन गर्ने अभियान चलेको थियो।

तत्कालीन जमिनदारका बटियादार (अधिया) किसानलाई संगठित गरी किसान आन्दोलन चर्काएको उनले प्रकाशित गरेको किताबमा उल्लेख छ। उनी सानै उमेरदेखि बिद्रोही र लडाकु स्वभावका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here