कालोपत्रे गरेको दुई महीनामै भत्कियो सडक, दशकसम्म दुःख पाएका स्थानीय पुन: समस्यामा

श्रोत : ईन्टरनेट

२० असार, काठमाडौं । भत्केर वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्रे भयो।

कालोपत्रे भएको दुई महीनापछि कतै सडक आफैं भत्किन थाल्यो भने कतै पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकको गोकर्ण-नयाँपाटी खण्डमा देखिन्छ।

frontline

कालोपत्रे भएको दुई महीनामै कतै भत्कने र कतै भत्काइएको स्थानीय ईश्वर श्रेष्ठले बताए। सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिछ्याउने र तार भूमिगत नगर्ने तर सडक कालोपत्रे हुने बित्तिकै यी काम थालिएका छन्।

कालोपत्रे भएको सडक दुई महीनामै भत्किँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धूलो उड्ने समस्या दोहोरिएको छ। यो समस्याबाट एक दशकसम्म दुःख पाएका स्थानीय बासिन्दा र यात्रु फेरि समस्यामा पर्ने भएका छन्।

गोकर्णेश्वर नगरपालिका-४ का वडाध्यक्ष जयराम महतले भत्काइएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताए।

नेपाल टेलिकमले सडक कालोपत्रे भएपछि खन्न थालेको, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरण पनि सडक बन्नुअघि काम गर्न नआउने र बनिसक्ने बित्तिकै खन्न आउँदा सडकमा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धूलो उड्ने समस्या दोहोरिएको उनको गुनासो छ। गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा भने धाराबाट सडकमा जाने पानीका कारण सडक बिग्रिएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख कृष्ण ओझा जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकको काम सकेर निर्माण व्यवसायीले नबुझाएकाले बिग्रिएको काम फेरि गरेर बुझाउनुपर्ने बताए।

नयाँपाटी पुलबाट सुन्दरीजलसम्मको केही भाग अझै कालोपत्रे गर्न बाँकी रहेकाले त्योसँगै भत्किएको भागमा पनि काम गर्ने प्रतिबद्धता आशीष/सिएम जेभीले जनाएको उनको भनाइ छ। (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here