कारवाही पत्रको ढाँचा मिलेन-निर्वाचन आयोग

निर्वाचन आयोगले पार्टी निर्णयलाई प्रक्रिया पुर्‍याएर ल्याउन जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई पत्र पठाएको छ।

जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक दल सम्बन्धी ऐनमा रहेका अनुसूची अनुसार भरेर पठाउन आयोगले पत्राचार गरेको छ।

frontline

केही प्रक्रियाहरु नमिलेकाले त्यसलाई मिलाएर पठाउन आयोगले पत्र पठाएको भट्टराई-यादव निकटका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।

‘अरु सबै कागजात हामीले कानुन अनुरुप आयोगमा बुझाएका छौं । नियमावलीको अनुसूची अनुरुपको फाराम नबुझाएको सत्य हो । हामीले फाराम ल्याइसकेका छौं । आयोगले हामीलाई पत्र पठाए पनि/नपठाए पनि हामीले छिटै बुझाउँछौं,’  उनले भने।

यादवले आयोगमा अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो तथा कार्यकारिणी समिति सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र मंगलबार पठाएका थिए । पत्रसहित यादवले पार्टीबाट कारबाही गर्न आवश्यक पर्ने केन्द्रीय कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, ११ र १५ जेठमा पठाइएका स्पष्टीकरण पत्रका प्रतिलिपि र स्पष्टीकरण पत्रको जानकारी इमेल र ह्वाट्सएपमार्फत पठाएको प्रमाणित स्क्रिनसट पठाएका थिए । 

त्यस्तै अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षलाई पार्टीले गरेका निर्णय सहितको सबै प्रक्रिया पुरा गर्न आयोगले पत्र पठाएको छ।

आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ। अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगले भनेको छ। 

आयोगले पार्टीले गरेका निर्णय लगायतका विषयलाई प्रक्रिया पुरा गरेर पठाउन भनेको ठाकुर-महतो निकटका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

जसपामा एक पक्षले अर्को पक्षलाई कारबाही गरेको छ। भट्टराई-यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको छ भने ठाकुर-महतो पक्षले यादवलाई हटाएको छ।

दुवै पक्षले आफ्नो दावीसहित निर्वाचन आयोगमा मंगलबारै पत्राचार गरेका थिए।

आयोगले भट्टराई यादव पक्षलाई अनुसूचि अनुसार मिलाएर पठाउन भनेको छ। तर ठाकुर-महतो पक्षलाई भने स्पष्टिकरण सोधेको पत्र, बैठकको माइन्यूटलगायत मागेको छ। स्रोतका अनुसार ठाकुर-महतो पक्षले कारबाही गरेको पत्र मात्रै पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here