काबुल विमानस्थलमा अर्को ठूलो आक्रमणको खतरा : अमेरिकी राष्ट्रपति
एजेन्सी । अफगानिस्तान लामो समयदेखि अशान्त बनिरहेको छ। विद्रोही समूह तालिबान र सरकारबीचको लडाईँमा हजारौं मानिसहरुले ज्यान गुमाइसकेका छन्। हाल देशका अधिकांश भागमा कब्जा जमाएको तालिबानले आफ्नो शासन शुरु गर्न लागेको छ।
अफगानि पूर्व सरकारले रक्तपात नहोस् र थप मानवीय क्षति बेहार्नु नपरोस् भनी सहजता अपनायो। देशका केही स्थानहरुमा हाल पनि तालिबानविरोधी गतिविधिहरु भइरहेका छन्। जसले फेरि युद्धको संकेत गरिरहेका छन्।
आन्तरिक कलह नै जारी रहेका बेला बिहीबार साँझ काबुल विमानस्थलमा ठूला बम विस्फोटहरु भए। उक्त विस्फोटमा कम्तीमा १७० जना मानिसको ज्यान गयो। सो आक्रमणको जिम्मा आइएसआइएस–के ले लिएको थियो।
विस्फोटमा ज्यान गुमाउनेमा सामान्य अफगानि नागरिकदेखि लिएर अमेरिकी सैनिक पनि थिए। तालिबानकै केही लडाकुहरुको पनि ज्यान गएको बताइएको छ। उक्त विस्फोटको घाउ नसुक्दै काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुने खतरा रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँ अर्को ठूलो आक्रमण हुन सक्ने भन्दै चेतावनी दिएका छन्।
सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ। स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ। बिहीबारको विस्फोटको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो। हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ।
मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ। तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन। ‘यो अन्तिम आक्रमण होइन। हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ। तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ। यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ। कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ।
काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन्। गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन्। ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ। तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ। दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्