कात्तिक २५ भित्र बाँकी रहेका पालिका र वडा अधिवेशन सक्न अध्यक्ष ओलीको निर्देशन

१६ कार्तिक, काठमाण्डु । नेकपा एमालेले कात्तिक २५ भित्र बाँकी रहेका पालिका र वडा अधिवेशन सक्न निर्देशन दिएको छ ।

आइतबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्तिक २५ गतेभित्रमा बाँकी रहेका पालिका र वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

frontline

यसअघि कात्तिक ६ गते देशभरका वडा र ९ गते भएको पालिका अधिवेशनमा ओली समूहले आफ्ना पक्षका नेतालाई मात्र नेतृत्वमा ल्याउन खोजेपछि एमालेको सयभन्दा धेरै पालिकाको अधिवेशन प्रभावित भएको छ ।

गत कात्तिक ९ गते ७ सय ५३ वटै पालिकाको अधिवेशन अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए । सोही दिन ६ सय ५० भन्दा बढी पालिकामा अधिवेशन सम्पन्न भएको छ ।

तर, तेस्रो धार समूहका नेतालाई नेतृत्वमा रोक्ने ओली समूहको योजनाका कारण सय भन्दा धेरै पालिकाको अधिवेशन प्रभावित भएको हो ।

बाढी, पहिरो, डुवानले प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन सम्पन्न भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तर, सयभन्दा बढी पालिकाको अधिवेशन हुन नसक्नु अन्य समूहका नेतालाई नेतृत्वबाट रोक्न खोज्नु मुख्य कारण भएको स्रोत बताउँछ ।

तेस्रो धारका नेता निकटकालाई नेतृत्वमा आउँन नदिनका लागि ओली समूहका नेताहरुले सर्वसम्मतको नाममा अधिवेशन रोकेको आरोप लागेको छ ।

यस अघि कात्तिक ६ गते ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशनको उदघाटनसमेत अध्यक्ष ओलीले एकैपटक गरेका थिए ।

तर अहिलेसम्म पनि वडा अधिवेशन सम्पन्न भएको छैन । वडा अधिवेशनहरुसमेत ओली समूहकै कारण प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here