काठमाडौंमा दुई जनामा हैजा पुष्टि, सतर्क रहन आग्रह
५ असार, काठमाडौं । काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो।
बिहीबार शुक्रराज अस्पतालको आइसीयुमा भर्ना भएका दुवै जनाको र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको थियो।
ती दुवैमा झाडापखालाको लक्षण देखिएको थियो। विरामीहरूको संकलित नमुना परिक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको छ।
हैजाका दुवै बिरामीहरु काठमाडौं महानगरपालिका बागबजार वडा-२८ मा बसोबास गर्दै आएका एकै परिवारका सदस्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।
हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान पुर्यानुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्