काठमाडौंप्रति वासिङ्टनको कूटनीतिक चासो-विश्व भू–राजनीतिमा तीव्र परिवर्तन
सन् २०२६ को सुरुवातसँगै विश्व भू–राजनीतिमा तीव्र परिवर्तनहरू भइरहेका छन्। यसै पृष्ठभूमिमा, नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा एक शक्तिशाली र स्थायी सरकार गठन भएपछि काठमाडौंप्रति वासिङ्टनको कूटनीतिक चासो बढेको देखिन्छ।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि सुरुवाती चरणमा दक्षिण र मध्य एसियाली मामिला हेर्ने उच्च अधिकारीहरूको नियुक्तिमा केही ढिलाइ भए तापनि, हालैका नियुक्तिहरूसँगै अमेरिकी कूटनीतिज्ञहरूको शृंखलाबद्ध नेपाल भ्रमणले नयाँ रणनीतिक आयामको संकेत गरेको छ।
पछिल्लो दुई महिनाको छोटो अवधिमा वासिङ्टनबाट काठमाडौंमा भएका उच्चस्तरीय कूटनीतिक भ्रमणहरू निकै अर्थपूर्ण छन्। वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री समीर पल कपुरले नेपालको भ्रमण गरे। उनले रास्वपा अध्यक्ष रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय हितका विषयमा गहन छलफल गरे। साथै, निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेट गरी नेपालमा अमेरिकी लगानी बढाउनेबारे संवाद गरे।
वैशाख २० मा सहायकमन्त्री कपुरको भ्रमण सकिएको १० दिनमै राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल आए। उनले नेपाल सरकारले सुशासन र परिवर्तनका लागि पाएको ‘अविश्वसनीय जनमत’ को प्रशंसा गर्दै सँगै काम गर्ने इच्छा व्यक्त गरे।
विशेष दूत गोरले सगरमाथा आधार शिविरमा कार्गो ड्रोनको सफल परीक्षणसमेत गरे। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपमन्त्री सारा बी. रोजर्स भारत हुँदै काठमाडौं आइपुगेकी छन्, जो नयाँ सरकार गठन भएयताकै सबैभन्दा उच्च तहकी अमेरिकी कूटनीतिज्ञ हुन्। उनले नेपाल दौरानको क्रममा उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरूसँग भेटभाट गर्ने कार्यक्रम रहेको छ।
यसै कूटनीतिक सघनताका बीच यसै साता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन संवाद भएको छ। उक्त संवादमा ८० वर्ष लामो नेपाल–अमेरिका साझेदारीलाई अझ गहिरो बनाउने सहमति भएको छ।
मन्त्री खनालले नेपालको नयाँ बजेट २०८३/०८४ का प्राथमिकताहरू, जस्तैः सुशासन, पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिबारे जानकारी गराउँदै व्यापार र लगानी विस्तारमा जोड दिएका छन्। यो कूटनीतिक सक्रियताले के देखाउँछ भने अमेरिका नेपालको नयाँ र युवा नेतृत्वसँग परम्परागत दायराभन्दा बाहिर गएर नयाँ ढंगको रणनीतिक सहकार्य गर्न उत्सुक छ।






प्रतिक्रिया दिनुहोस्