प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत र निन्दनीय : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ। प्रधानमन्त्री शाहले आइतबार संसद्मा नेपालले पनि भारतीय भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै कांग्रेसले त्यसलाई राष्ट्रहितविपरीत रहेको बताएको हो।

कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय ‘सीमा समस्या’का सम्बन्धमा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भन्ने अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको उल्लेख गरिएको छ।

frontline

कांग्रेसले ऐतिहासिक तथ्य र प्रमाणबिना प्रधानमन्त्रीले राष्ट्रिय हित प्रतिकूल हुने गरी व्यक्त गरेका विचार अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भएको जनाएको छ। उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको राजनीतिक तथा कूटनीतिक चेत कमजोर रहेको देखाएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक विश्वसनीयतामाथि समेत गम्भीर आघात पुगेको दाबी गरिएको छ।

विज्ञप्तिमा नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, प्रमाण र नेपाली जनताको राष्ट्रिय भावना विपरीत प्रधानमन्त्रीबाट व्यक्त विचारहरू स्वीकार्य नहुने उल्लेख छ। कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सामान्य प्राविधिक सीमा समस्यासँग तुलना गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको आरोप लगाएको छ।

त्यस्तै प्रधानमन्त्री शाहले सीमा समस्याका विषयमा बेलायतसँग पनि कुरा भइरहेको दाबी गरेको प्रसंगलाई कांग्रेसले थप आपत्तिजनक र हास्यास्पद भनेको छ। दुईपक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै यस्तो अभिव्यक्ति दिनुको आधार स्पष्ट पार्न कांग्रेसले माग गरेको छ।

कांग्रेसले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्नेबारे स्पष्ट गर्न माग गर्दै प्रधानमन्त्री र सरकारले संसद् तथा आम जनतासमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here